बीबीसी । अमेरिकी नौसेनाका सचिव जोन पेलान पदमुक्त भएका छन् । पेन्टागनका प्रवक्ता सिएन पार्नेलले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरेका हुन् ।
पेलानको स्थानमा नौसेनाका उपसचिव हङ काओले कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्ने जनाइएको छ । पेन्टागनले पेलानको पदत्यागको कारण भने खुलाएको छैन । पछिल्ला महिनाहरूमा उच्च तहका सैन्य अधिकारीहरू निरन्तर पदमुक्त भइरहेका बेला उनको बहिर्गमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो निर्णय होर्मुज क्षेत्रमा बढ्दो तनाव, इरानसँगको द्वन्द्व र अमेरिकी नाकाबन्दीबीच आएको हो । यसअघि अमेरिकी रक्षा सचिव पेट हेगसेथले सेनाका प्रमुख रेन्डी जर्जलाई पद छाड्न आग्रह गरेका थिए ।
रक्षा सचिव हेगसेथले जिम्मेवारी सम्हालेपछि नौसेना र वायुसेनासहितका एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई पदमुक्त गरिसकेका छन् ।
नौसेना सचिवको जिम्मेवारी नीतिनिर्माण, भर्ना, तालिम, बजेट तथा पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित हुन्छ ।
