बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको सामुद्रिक नाकाबन्दी अन्तर्गत एउटा इरानी झन्डावाहक पानीजहाज नियन्त्रणमा लिइएको बताएका छन् । खाडी क्षेत्रमा अमेरिकाले नियन्त्रणमा लिएको भनिएको मालवाहक जहाजबारे इरानले कुनै प्रतिक्रिया जनाएको छैन ।
रोक्न दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले ’टोस्का’ नाम गरेको जहाजलाई कब्जामा लिएको अमेरिकी राष्ट्रपतिले ट्रुथ सोशलमा उल्लेख गरेका छन् । इरानसँगको युद्ध अन्त्यका लागि पाकिस्तानमा हुन लागेको दोस्रो चरणको वार्ता टोलीको नेतृत्व फेरि पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गर्ने ह्वाइट हाउसले पुष्टि गरेलगत्तै ट्रम्पको यो घोषणा आएको हो ।
दोस्रो चरणको वार्तामा तेहरानले आफ्नो सहभागिता हुनेबारे अहिलेसम्म पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी कायम रहेसम्म इरानी अधिकारीहरूले सहभागिता नजनाउने बताएका छन् । ट्रम्पले अमेरिकी नियन्त्रणमा रहेको पानीजहाज करिब ९०० फिट लामो र विमानवाहक जहाज जत्तिकै तौलको रहेको उल्लेख गरेका छन् ।
अमेरिकी सामुद्रिक नाकाबन्दी अटेर गरेर जान खोजेको भन्दै ट्रम्पले उक्त जहाजको इन्जिन रहने कोठामा प्वाल पारेर जहाजलाई रोकेको जनाएका छन्।
‘अवैध गतिविधिको विगतका कारण टोस्का अमेरिकी ट्रेजरीको प्रतिबन्धमा छ। जहाजलाई हामीले पूर्ण नियन्त्रणमा लिएका छौँ र त्यसमा के छ भनेर हेर्दै छौँ,’ ट्रम्पले भनेका छन्।
अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको एउटा भिडिओमा अमेरिकी जलसेनाको जहाजले उक्त जहाजलाई रोक्न चेतावनी दिएको र गोली प्रहार गरिएको देखिएको छ।
