काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी पूर्वकप्तान एन्जिला तुम्बाप्पो सुब्बाले फुटबलमा राजनीति नगरिदिन आग्रह गरेकी छन् ।
अगामी साफ च्याम्पियनसीप अन्योलमा परेपछि सोमबार सामाजिक संजालमार्फत उनले खेलमा खेलाडीको पसिना, सपना र वर्षौंको मेहनत लुकेको भन्दै राजनीति नगरिदिन आग्रह गरेकी हुन् ।
उनले यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुने बताएकी छन् । उनले भनेकी छन्, ‘नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेल भन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भइरहेको छ। यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फाबीचको आन्तरिक कलहले गर्दा आगामी साफ महिला च्याम्पियनसीप २०२६ मा हाम्रो सहभागिता नै संकटमा पर्नु भनेको खेलकुदकै उपहास हो। यी ‘प्रशासनिक रोक’ र ‘समयसीमाको उल्लङ्घन’ केवल कागजका कुरा होइनन्—यसको पछाडि हजारौँ खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौँको मेहनत लुकेको हुन्छ।’
उनले संस्थाहरू चल्न छोडेपछि खेलाडीको भविष्य अन्धकार छाउने भएकाले खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको सिकार नबनाउन आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘जब संस्थाहरू चल्न छोड्छन्, तब एउटा खेलाडीको भविष्यमा अन्धकार छाउँछ। हामी देशको गर्वका लागि खेल्छौँ, तर प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजना बिना हामी मैदानमा कसरी उत्रिने ? नेपाल सरकार र एन्फालाई विनम्र अनुरोधः खेलकुद जोड्ने माध्यम बन्नुपर्छ, प्रशासनिक दाउपेचको रणभूमि होइन। दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न म हार्दिक आग्रह गर्दछु। खेलाडीलाई खेल्ने वातावरण दिनुहोस्। हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन । हाम्रा खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको शिकार नबनाउनुहोस्। हाम्रो भविष्य “जोखिम“ मा होइन, तपाईंहरूको ‘प्राथमिकता’ मा हुनुपर्छ।’
