रोयटर्स । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न यो हप्ताभित्रै पुनः वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई दिनमै पाकिस्तानमा वार्ता पुनः सुरु हुन सक्ने बताएका हुन् ।
गत सप्ताहन्तमा इस्लामाबादमा भएको वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गरेको छ । त्यसका बाबजुद पनि दुवै पक्षबीच कूटनीतिक सम्पर्क भने जारी रहेको अधिकारीहरूले बताएका छन्।
पाकिस्तान, इरान तथा खाडी क्षेत्रका स्रोतहरूका अनुसार अमेरिकी र इरानी वार्ता टोलीहरू यो हप्ताको अन्त्यतिर पुनः पाकिस्तान फर्कन सक्ने सम्भावना छ। यद्यपि, इरानका एक वरिष्ठ अधिकारीले वार्ताको ठोस मिति तय नभएको बताएका छन्।
यसैबीच, जर्जियामा आयोजित कार्यक्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति ट्रम्प इरानसँग ‘ठूलो सम्झौता’ गर्न इच्छुक रहेको तर दुई देशबीच गहिरो अविश्वास कायम रहेको उल्लेख गरे। ‘यो समस्या एकैचोटि समाधान हुने खालको होइन,’ उनले भने ।
अमेरिकी नाकाबन्दीप्रति इरानले कडा प्रतिक्रिया जनाएपनि वार्ता जारी रहने संकेतले अन्तर्राष्ट्रिय तेल बजारमा केही स्थिरता आएको छ। कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि इरानले होर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द गरेको छ, जुन विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग हो। हालसम्मको हिंसामा करिब ५ हजार जनाको ज्यान गइसकेको अनुमान छ।
गत सप्ताहन्तको वार्ता असफल भएपछि दुई हप्ते युद्धविराम टिक्ने कि नटिक्ने भन्नेमा अनिश्चितता बढेको छ। अझै एक हप्ता बाँकी रहेको उक्त युद्धविरामको भविष्यबारे चासो बढेको छ।
इरानको आणविक कार्यक्रम वार्ताको मुख्य विवाद बनेको छ। अमेरिकाले इरानलाई २० वर्षसम्म सबै आणविक गतिविधि स्थगित गर्न प्रस्ताव गरेको छ भने इरानले ३ देखि ५ वर्षसम्मको सीमित स्थगन प्रस्ताव अघि सारेको स्रोतहरूले जनाएका छन्।
वार्तासँग सम्बन्धित एक स्रोतका अनुसार पछिल्ला गोप्य संवादहरूले दुवै पक्षबीचको मतभेद घटाउँदै सम्भावित सम्झौतातर्फ प्रगति भएको संकेत दिएका छन्।
