‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नम्बर १४ मा प्रयोग गरिएको भाषाप्रति एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नम्बर १४ मा ‘अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ भन्ने शब्दावली राखेकोमा आपत्ति जनाएको छ ।

बुधबार बिहान सामाजिक संजालमार्फत एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ । अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् । हाम्रा छिमेकीहरू बीच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् ।’

उनले सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी अपनाउन सरकारलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘यही कुरा ‘समनिकटता’ र ‘समदूरी’ का हकमा पनि लागु हुन्छ । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो । मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन् । त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैभरि उही मापन र आयतन नरहन पनि सक्छ । सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *