बीबीसी । लेबनान र इजरायलले तीन दशकभन्दा बढी समयपछि पहिलोपटक प्रत्यक्ष कूटनीतिक वार्ता गरेका छन् । इरान समर्थित समूह हेजबोल्लाहसँगको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको यो भेटलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुवियोले वार्तालाई ‘ऐतिहासिक अवसर’ को संज्ञा दिँदै हेजÞबोल्लाहको प्रभाव घटाउने दिशामा प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् । अमेरिकी पक्षका अनुसार, दुवै देशले समय र स्थान पछि तय गर्ने गरी प्रत्यक्ष वार्ता अघि बढाउने सहमति गरेका छन्। इजरायलले सबै गैर–राज्य सशस्त्र समूहलाई निशस्त्रीकरण गर्नुपर्ने अडान दोहोर्याएको छ, जसले हेजबोल्लाहलाई लक्षित गर्छ।
लेबनानले तत्काल युद्धविराम र गम्भीर मानवीय संकट समाधानका लागि ठोस कदम चाल्नुपर्ने माग राखेको छ। दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन, र अन्तिम उच्चस्तरीय प्रत्यक्ष वार्ता सन् १९९३ मा भएको थियो।
मार्च २ देखि सुरु भएको इजरायली सैन्य कारबाहीयता हालसम्म २,००० भन्दा बढी मानिसको ज्यान गएको छ । मंगलबार वाशिङ्टनमा वार्ता भइरहेका बेला, हेजबोल्लाहले इजरायल तथा लेबनानस्थित इजरायली सेनामाथि कम्तीमा २४ आक्रमण गरेको दाबी गरेको छ। उत्तरी इजरायलका विभिन्न क्षेत्रमा दिनभर ड्रोन र रकेट आक्रमणको चेतावनी सायरन बजिरहेका थिए ।
इजरायलले आफ्नो सैन्य अभियान हेजÞबोल्लाहलाई निशस्त्रीकरण र विघटन गर्न केन्द्रित रहेको जनाएको छ। गाजा युद्धको क्रममा २०२३ र २०२४ मा पनि दुवै पक्षबीच झडप भएको थियो।
