भोजपुर । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ । यही चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।
मुन्दुम पदमार्गको प्रचारप्रसार तथा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीनवटा स्थानीय तह र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।
हतुवागढी–९ कोप्चेबाट सुरु भएको दौड आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र तावाभञ्ज्याङसम्म करिब ६० किलोमिटर दूरीमा सञ्चालन गरिएको हो ।
प्रतियोगितामा ६० किलोमिटर पुरुष खुलातर्फ ओखलढुङ्गाका विनोद थापा मगर ६ घण्टा ५० मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए । खोलुखुम्बुका अर्जुन कुलुङ द्वितीय र मिलन राई तृतीय भए ।
विजेताहरूले क्रमशः ८० हजार, रु ६० हजार र ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै महिला खुल्ला ६० किलोमिटर दौडमा खोटाङकी निर्मला राई प्रथम, रोल्पाकी आश्मा विक द्वितीय र सोलुखुम्बुकी आङफुर्वा शेर्पा तृतीय भए ।
उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ८० हजार, रु ६० हजार र रु ४० हजार पुरस्कार प्राप्त गरेको आयोजक समितिका सचिव रविन थापाले जानकारी दिए ।
पुरुष खुल्ला ४५ किलोमिटर दौडमा काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू द्वितीय र भोजपुरका उमेश राई तृतीय भए । उनीहरूले पनि ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० हजार, ४० हजार र २० हजार पुरस्कार प्राप्त गरेका छन् । महिला ४५ किलोमिटरतर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोश्नी बुढा द्वितीय र भोजपुरकी रुश्मा राई तृतीय भए । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः रु ६० हजार, रु ४० हजार र रु २० हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।
भेट्रान (४० वर्षमाथि) पुरुषतर्फ धरानका यामानाथ लिम्बू प्रथम, विजय राई द्वितीय र रेशम लिम्बू तृतीय बने । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरेका आयोजक समितिका अध्यक्ष सन्दीप किरावाले बताए ।
भेट्रान महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र विनिता राई द्वितीय बने । उनीहरूले क्रमशः २० हजार र १५ हजार पुरस्कार प्राप्त गरे । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, कोशी प्रदेशसभा सदस्य विनोद वान्तावा, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईलगायतले विजेतालाई पुरस्कार वितरण गरे ।
