७ दिनभित्र चुनाव गर्न एन्फालाई फिफाको पत्र, नगरे निलम्बन गर्ने चेतावनी

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ दिनभित्र चुनाव गर्न निर्देशन दिएको छ । फिफाले एन्फालाई सात दिनभित्र चुनाव भए निलम्बन प्रक्रिया अघि बढ्ने भन्दै पत्राचार गरेको हो ।

फिफाले पत्र प्राप्त भएको ७ दिनभित्र निर्वाचन प्रक्रिया पुनः सुरु गर्न र अन्तिम रूप दिन निर्देशन दिएको छ । पत्रमा भनिएको छ, ‘यदि राखेपले एन्फा निलम्बनको निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुनः सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ ।’

एन्फा नेतृत्वले १३ चैतमा चुनाव गर्न खोजेपछि राखेपले ११ चैतमा एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो । राखेपले निलम्बन गर्ने क्रममा एन्फालाई ३ महिनाभित्र पूरा गर्न भन्दै ११ बुँदे निर्देशन दिएको थियो ।

कार्यकाल सकिनु भन्दा तीन महिनाअगाडि नै गर्न खोजिएको चुनावमा एन्फा नेतृत्वले ४ वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप ४ वर्षका लागि केन्द्रमा आफू अनुमोदित हुने रणनीति बनाएको थियो ।

सरोकारवाला तथा राखेपले भने पहिला जिल्लाको चुनाव गरेर नयाँ प्रतिनिधि ल्याएर मात्र चुनाव गर्नुपर्ने अडान राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *