तिब्बती प्रशासनका प्रमुखद्वारा प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । तिब्बती प्रशासनका प्रमुख (सिक्योङ) पेन्पा छेरिङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहलाई बधाई दिएका छन् ।

धर्मशालाबाट जारी सन्देशमा उनले केन्द्रीय तिब्बती प्रशासन तथा सम्पूर्ण तिब्बती जनताका तर्फबाट प्रधानमन्त्री साहलाई शुभकामना व्यक्त गरेका हुन् ।

बधाई सन्देशमा सिक्योङ छेरिङले हालै जेनजीको नेतृत्वमा भएको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा साहको उदय हुनु नेपाली जनताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् ।

उनले नेपाल र तिब्बतबीच ऐतिहासिक तथा आध्यात्मिक सम्बन्ध रहेको र नेपालमा आश्रय लिएका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्याउँदै आएको पनि बताएका छन्। यसका लागि नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरिएको छ।

सन्देशमा उनले प्रधानमन्त्री साहको सफल कार्यकालको कामना गर्दै नेपाल र तिब्बती जनताबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । साथै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *