काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवाको रोजगारी, सुशासन र स्वदेश फिर्तासम्बन्धी सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत रहेको उल्लेख गर्दै यो जनसांख्यिक लाभांशलाई मुलुक निर्माणमा उपयोग गर्नुपर्ने बताए ।
उनले रोजगारी र अवसरको खोजीमा दैनिक करिब दुई हजार युवा विदेशिन बाध्य हुनु गम्भीर विडम्बना भएको बताए । २०८२ साल भदौमा भएको जेनजी आन्दोलनले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको उनको भनाइ छ ।
‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’ उनले प्रश्न गरेका छन् ।
चुनावअघि अमेरिका, क्यानडा र युरोपमा पुगेर सरकार बनेको १०० दिनमै विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा गरिएको स्मरण गराउँदै आङदेम्बेले सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर विषय भएको बताए ।
यसले युवामा पुनः निराशा बढ्न थालेको उनको भनाइ छ । उनले देशमै स्वरोजगार भएका युवाहरू गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहका घटनालाई त्यसको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
आङदेम्बेले युवालाई केवल मतदान गर्ने जमातका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिए । विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजी स्वदेशमा परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको उनले बताए ।
तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय युवा दिवस युवाले नेपालमै आफ्नो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धताको दिन बन्नुपर्ने बताए ।
