काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्मो लामो समयदेखिकी प्रेमिका तथा मोडल जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् ।
रोनाल्डोले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको संकेत गर्ने तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा दुई हातमध्ये एउटामाथि अर्को हात राखिएको देखिन्छ भने दुवै हातमा विवाहको औँठी देखिन्छ ।
पोर्चुगिज सञ्चारमाध्यमका अनुसार रोनाल्डो र रोड्रिग्वेजले अगस्ट ११ मा पोर्चुगलको राजधानी लिस्बननजिकै रहेको तटीय सहर कास्काइसमा विवाह गरेका हुन् । विवाह समारोहमा उनीहरूका पाँच सन्तान पनि सहभागी भएको बताइएको छ ।
तस्बिर सार्वजनिक भएको ३० मिनेटभित्रै त्यसमा ३० लाखभन्दा बढी लाइक्स प्राप्त भएको थियो ।
रोनाल्डो र रोड्रिग्वेजबीच करिब १० वर्षदेखि प्रेम सम्बन्ध रहेको छ । उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्चीको एक पसलमा भएको थियो, जहाँ रोड्रिग्वेज काम गर्थिन् । त्यतिबेला रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका थिए ।
दुवैले गत वर्ष अगस्ट ११ मा इन्गेजमेन्टको घोषणा गरेका थिए । त्यसबेला रोड्रिग्वेजले ठूलो औँठी लगाएको तस्बिर सार्वजनिक गर्दै ‘हो, म तयार छु। यो जीवनमा मात्र होइन, मेरा सबै जीवनमा’ भन्ने अर्थ लाग्ने सन्देश लेखेकी थिइन् ।
रोनाल्डो र रोड्रिग्वेज लामो समयदेखि सँगै रहँदै आएका थिए । उनीहरूको सम्बन्धलाई विश्व फुटबल तथा मनोरञ्जन क्षेत्रका चर्चित जोडीमध्ये एकका रूपमा हेरिँदै आएको छ ।
