काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरु मन्त्री र सचिवलाई भेट्न मन्त्रालय पुग्दा बैठकमा कोरम नपुगेको बताएकी छन् ।
गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुन सकेको थिएन । यसरी सांसदहरु हाजिर गरेर टाप कस्ने गरेको भन्द आलोचना भएपछि उनले यस्तो बताएकी हुन् ।
नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णायार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य अर्थात् ६९ हुनुपर्नेमा ६१ मात्रै सदस्य भएकाले सो विधेयक अर्काे मितिमा निणायार्थ पेस गरिने भएको सभामुख डीपी अर्यालले जानकारी दिएका थिए । सांसदहरुको आलोचना भएपछि सांसद तामाङले यस्तो बताएकी हुन् ।
यस्तो छ आशिकाको भनाई
हिजो सदनमा संसदहरुको सङ्ख्या पुगेन रे ?? अब संसदहरू सबै मन्त्रालयको ढोकामा कतिखेर मन्त्री र सचिवलाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ अनि पुग्छ त संख्या ?? सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि काम गर्ने कर्मचारी ले हो मन्त्रालयका सचिवहरूले अब हजुर ३ दिन सक्छौँ हामीले भनेको काम ३ महिना बितिसक्दा पनि दिनमा ३ पल्ट त मन्त्रालय नै काम होला कि तैपनि भनेर धाउनुपर्छ । जनताको गुनासा, मुद्दा सबैभन्दा पहिले कसलाई आउँछ भन्नू पर्दा, निर्वाचित आफ्नो क्षेत्रको सांसदलाई अनि हामी संसदहरूले गुनासो कहाँ लाने भन्दा सम्बन्धित कार्यालय र मन्त्रालय, फोन घुमाउनु पर्यो कोहीको अफ कोहीको ब्यस्त, लागिहाल्यो भने हजुर मन्त्रालय नै आएर मन्त्रीलाई भन्नुस् न भन्नुहुन्छ । जानैपर्यो मन्त्रीलाई waiting room मा एकछिन कुर्नेपर्यो !
किनकी मन्त्रीज्यू अर्को बैठकमा व्यस्त हुनुहुन्छ । अनि एउटा मन्त्रालयमा बल्लतल्ल गुनासो त सकियो अर्को शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधार इत्यादि गुनासो लिएर सम्बन्धित मन्त्रालय जान त अझै बाकी नै छ । ५ः०० ऊ बजिसक्यो झिमिक्क रात पर्छ, छोराछोरी स्कुलबाट ल्याउने समय पनि सम्झिनै पर्यो ।
हाजिर गर्यो अनि टाप रे ?? सदन भनेको ७ घन्टासम्म ठिक हो । जे बोल्नु पर्ने ठोस ठोस र तथ्यपरक कुरा उठाउने र कार्यान्वयन गर्न निर्देशिका दिने खालको भए पो त अब एउटा प्रतिपक्षले माइक हात पायो भने बोलेको बोलेइ हो सभामुखज्यूले समय सकियो माननीयज्यू भन्दा त मान्नुहुँदैन । नयाँ कुरा केही छैन खाली एउटा कुरा दोहोर्याको दोहोर्याई ! अनि lengthy / boring हुँदैन त ??
