बालबालिकामा इन्टरनेटको प्रभावः अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

रामचन्द्र रायमाझी, तानसेन (पाल्पा)  पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको पहुँच गाउँगाउँसम्म विस्तार हुँदै गएको छ । स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै हुर्किरहेका अहिलेका बालबालिकामा यसको सकारात्मकभन्दा बढी नकारात्म प्रभा पर्दै जान थालेको विज्ञहरू बताउँछन् । पछिल्लो समय मोबाइल नहुने परिवार कमै छन् । वर्तमान समयमा न्यून आय भएका परिवारका साथै सबैजसो घरका सदस्यसँग स्मार्टफोन र इन्टरनेटको  पहुँच पुगेको छ ।

स्मार्टफोनमा पहुँचको दुरुपयोग पनि बढेको छ, यो जोखिमपूर्ण र चिन्ताको विषय बनेको मनोचिकित्सक तथा बालरोग विशेषज्ञ डा विकासराज अधिकारीले बताए । मोबाइलको बढी प्रयोगका कारण आफ्ना सन्तानमा समस्या देखिएपछि अविभावकहरू विभिन्न मनोचिकित्सा उपचार केन्द्रमा पुग्ने गरेका उनको भनाइ छ ।

“अहिले शिशु उमेरदेखि बालबालिका मोबाइलसँग परिचित हुन्छन् । आमाबुबाले चलाएको, फोटो खिचेको देखेर हुर्किएका उनीहरू कम उमेरदेखि मोबाइलमा गेम खेल्ने, साथीभाइसँग कुराकानी गर्नेलगायत अन्य विभिन्न काममा इन्टरनेटको प्रयोग गर्छन् । यसले बालबालिकामा इन्टरनेटको आदत बस्दा अभिभावकलाई उनीहरूको स्वास्थ्य, शिक्षालगायत विषयमा चिन्ता बढ्ने गरेको छ”, डा अधिकारीले भने ।

कक्षा ५ मा अध्ययनरत तानसेनका उमेश खड्का निकै चुलबुले स्वभावका थिए । जतिबेला पनि साथीसँग खेल्न चाहने, साइकल कुदाउँन घरबाहिर निस्किरहने उनलाई लकडाउनको समयमा कोठामै राख्न हम्मेहम्मे प¥यो । त्यसका लागि अभिभावकले इन्टरनेटमा भुलाउन जुक्ति निकाले ।

साउनमा दोस्रो चरणको लकडाउन सुरु भएपछि उनको विद्यालयले अनलाइन कक्षा सुरु ग¥यो । त्यसपछि उनको अधिकांश समय इन्टरनेटमा बित्न थाल्यो । माघ पहिलो हप्तादेखि विद्यालय खुल्यो, तर उनी जान मानेनन् । विद्यालय जान नमान्ने, मोबाइल चलाइरहन खोज्ने, नदिँदा धेरै रिसाउने, समान फ्याँक्ने, फुटाउने गर्न थालेपछि परिवारले विद्यालयसँग सम्पर्क गरेर मनोपरामर्श दिन सुरु गरेको छ ।

अहिले आठ वर्ष पुगेकी तानसेन–३ भगवती टोलकी मनिषा पाण्डेलाई पनि अभिभावकले खुवाउने बेला विभिन्न किसिमका भिडियोहरू देखाउथे । उनीमा खाने बेला, पढ्नु अघि भिडियो हेर्ने बानी नै बस्यो । त्यसलाई अभिभावकले सामान्य ठाने । विस्तारै उनले मोबाइलमा गेम (खेल) पनि खेल्न थालिन । त्यो देखेर अभिभावक खुसी व्यक्त गर्थे ।

मनिषाको गेमप्रति लगाव बढ्दै गयो । त्यसपछि उनी जतिबेला पनि मोबाइल खोज्ने र गेम खेल्ने गर्न थालिन । गत पुसमा ५ दिन इन्टरनेट नआउँदा मनिषाले धेरै रिसाहा व्यवहार देखाएकी अभिभावकले बताए । अनलाइन हुन नपाउँदा आमाको फोन फ्याँकेर फुटाइदिनेसम्मका क्रियाकलाप हुन थालेपछि मनोचिकित्सकबाट उपचार सुरु गरिएको मनिषाकी आमाले जानकारी दिइन् ।

दुई वर्ष पहिलेसम्म पढाइमा अब्बल रहेको छोरा विस्तारै कमजोर बन्दै गएपछि गुल्मी तम्घासकी अप्सरा परियार पनि चिन्तित हुनुहुन्छ । तीन कक्षामा अध्ययनरत १२ वर्षीय छोरा प्रिन्स केही समयदेखि विद्यालयबाट कोठामा फर्किएपछि झोला र पोसाक नखोली मोबाइलमा व्यस्त हुन्छन् ।

मोबाइल खोसिदिएपछि रुने र खाना नखाइदिने आमा अप्सराले बताइन् । उनले भनिन्, “पहिलेपहिले पढाइ राम्रो थियो, कोभिडपछि मोबाइलबाट पढ्ने बानी बसेपछि अहिले मोबाइल नभई हुँदैन । मोबाइलमा गेम खेल्ने र युुट्युुबमा भिडियो हेर्ने गर्दा पढाइमा ध्यान दिँदैन ।”

छोरा खाली मोबाइलमा व्यस्त हुने, कुनै पनि काम नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धी स्वभावको हुँदै गएको आमा अप्सराको भनाइ छ । उनले भनिन्, “बच्चा पढ्दै छन् मोबाइलमा चाहिने कुरा हेर्दै होलान् भन्यो युट्युबमा विभिन्न खालका भिडियो हेर्ने, गेम खेल्ने गरेका हुन्छन्, उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने, भनेको नमान्नेलगायत गतिविधि देखाउँछन् ।”

इन्टरनेटको पहुँचले जनजीवन सहज भए पनि सुरक्षित रूपमा प्रयोग गर्न नसक्दा गलत सूचनाको बाढी र बालबालिका बढी समस्यामा पर्ने गरेका मनोचिकित्सक तथा बालरोग विशेषज्ञ डा अधिकारीले बताए ।

अभिभावकले व्यस्तता देखाउँदै भुलाउन मोबाइल वा कम्प्युटर प्रयोग गर्न दिने तर उनीहरूले के गर्दै छन् भन्ने ख्याल नगर्दा पनि बालबालिकाले इन्टरनेटको गलत प्रयोग गर्ने गरेका बताउँदै उनले यसले मस्तिष्क, आँखा, स्मरण शक्तिलगायतमा नकारात्मक असर गर्ने उनले जानकारी दिए ।

पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा स्वास्थ्य समस्या उत्पन्न हुँदै गएको मनोचिकित्सक डा अधिकारीले बताए । “आफ्ना बालबालिकाले पढाइ बिगारेको, नसुतेको, समयमा नउठेकोलगायत समस्या लिएर अधिकांश अभिभावक आउँछन् । सबैको समस्या मोबाइलको बढी प्रयोग नै देखिन्छ”, उनले भने।

अधिकारीका अनुसार सानै उमेरदेखि लामो समयसम्म यस्ता विद्युतीय उपकरण मोबाइल, ल्याप्टप चलाएमा यसको दीर्घकालीन असर गर्दछ । एकोहोरो रूपमा इन्टरनेटमा व्यस्त हुँदा बालबालिकाको सामाजिक, मानसिक विकासमा असर पर्ने उनले जानकारी दिए ।

बढी समय इन्टरनेटमा बिताउने बच्चालाई पछि गएर सामान्य अवस्थामा फर्काउनसमेत मुस्किल हुने डा अधिकारीको अनुभव छ । उनीहरू पछि गएर भावनात्मक रूपमा कमजोर हुने, आत्माविश्वासको अभाव हुने, मनस्थितिमा अस्थिरता हुने, आँखा तथा श्रवणशक्ति, स्मरणशक्ति कमजोर हुनेलगायत समस्या देखिने उनले जानकारी दिए ।

आफ्ना बालबालिकामा मोबाइलको प्रयोग आदत बनेको छ/छैन सोबारे अभिभावकले विचार पु¥याउनुपर्नेमा जोड दिँदै डा अधिकारीले आफूले पनि मोबाइल कम प्रयोग गर्ने, बालबालिकासँग खेल्ने, समय बिताउने, पढ्ने र पढ्न प्रेरित गर्नेलगायत गतिविधि गरेर बालबालिकाको बानी परिवर्तन गराउन सकिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *