नवलपुर । नवलपुरको गैँडाकोटमा सम्पन्न पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मंगलबार भएको फाइनलमा मधेस प्रदेशलाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेशले उपाधि हात पारेको हो ।
लुम्बिनीले उपाधिसँगै तीन लाख नगद हात पारेको छ । प्रतियोगितामा उपविजेता बनेको मधेस प्रदेशले दुई लाख नगद पुरस्कार हात पार्यो । प्रतियोगिता अवधिभर व्यक्तिगत खातामा १५४ रन जोड्दै लुम्बिनी प्रदेशका कप्तान देव खनाल प्लेयर अफ दी सिरिज (सर्वोत्कृष्ट खेलाडी) घोषित भई २५ हजार नगद पुरस्कार हात पारे ।
फाइनलमा मधेस प्रदेशले दिएको ९० रनको चुनौती लुम्बिनी प्रदेशले नौ दशमलव दुई ओभर खेल्दै एक विकेटको क्षतिमा पूरा गर्यो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीको जितका लागि कप्तान देव खनालले अविजित रहँदै अर्धशतीय पारी खेले । उनले ४१ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ६१ रन बनाए । त्यस्तै सम्राट भुसालले अविजित रहँदै १५ बलमा १५ रन बनाउँदै टिमलाई उपाधि दिलाए । बलिङतर्फ मधेस प्रदेशका विशाल पटेलले एक विकेट लिए ।
सुरुवाती ब्याटिङमा उत्रिएको मधेश प्रदेशका कप्तान अनिलकुमार साहले २८ बलमा तीन छक्का र चार चौका सहित ४४ रनको योगदान दिए । उक्त प्रतियोगितामा रुपेश कुमार सिंहले २२ बलमा एक छक्का सहित १५ रन जोड्दा अन्य ब्याटरहरुले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् ।
बलिङतर्फ मधेस प्रदेशलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङ र अजय चौहानले तीन/तीन विकेट लिए ।
त्यस्तै वीरबहादुर घर्ती मगर, सलाहुद्दिन खान र कृष्ण कार्कीले मधेसको एक/एक विकेट लिए । प्रतियोगितामा सात वटा प्रदेशका सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको गैँडाकोट मेयर्स ११ गरी आठ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले जानकारी दिए ।
