एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना पराजित भएको छ । सोमबार राति भएको खेलमा जिरोनासँग २-१ गोलले पराजित भएसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।
इस्टाडी मुनिसिपाल डी मोन्टीलिभिमा भएको खेलमा जिरोनालाई जित दिलाउन थोमस लेमार र फ्रान बेल्ट्रानले समान एक/एक गोल गरे । बार्सिलोनाको लागि पाउ कुबार्सीले एक गोल गरे । दोस्रो हाफको ५९ औँ मिनेटमा कुबार्सीले गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए । यसअघि पहिलो हाफको इन्जुरी समयमा लामिने यामाल पेनाल्टीमा चुक्दा बार्सिलोनाले गोल गर्ने अवसर गुमाएको थियो ।
६१ औँ मिनेटमा थोमस लेमारले गोल गर्दै जिरोनालाई १-१ गोलको बराबरीमा ल्याए । ८६ औँ मिनेटमा फ्रान बेल्ट्रानले गोल गर्दै जिरोनालाई जिततर्फ अग्रसर बनाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा अजोएल रोका रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि जिरोना १० खेलाडीमा समेटिएको थियो ।
खेलमा थप गोल हुन नसक्दा जिरोना २-१ गोलले विजयी भएको हो । जितसँगै जिरोना २४ खेलबाट २९ अंक जोड्दै अंकतालिकाको १२ औँ स्थानमा रहेको छ भने समान खेलबाट ५८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।
