राष्ट्रिय लिगमा एपीएफ र एनआरटी विजयी

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम(एनआरटी) विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४-१ गोलले हराउँदै एपीएफले लिगमा दोस्रो जित निकालेको हो ।

च्यासल स्टेडियममा भएको खेलमा एपीएफलाई जित दिलाउन युवराज खड्काले दुई गोल गर्दा समिराज ठोकर, प्रदिप लामाले समान एक/एक गोल गरे । चर्च ब्वाइजको लागि मिलन राईले एक गोल गरे । समान खेल खेलेको चर्ज ब्वाइजको एक अंक रहेको छ ।

जितसँगै एपीएफले दुई खेलबाट ६ अंक जोड्दा समान खेलबाट चर्च ब्वाइजले एक अंक जोडेको छ।

यस्तै अर्को खेलमा एनआरटीले कान्क्रेबिहार क्लबलाई २-० गोलले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीलाई जित दिलाउन टिमोथी र रन्दिप पौडेलले समान एक/एक गोल गरे ।

जितसँगै एनआरटीले तीन खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट कान्क्रेबिहार अंकविहीन रहेको छ । अर्को खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *