काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वाम लोकतान्त्रिक शक्तिहरुको सहकार्य आजको आवश्यकता भएको बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले संबैधानिक प्रक्रियाको स्वचालनको लागि वाम लोकतान्त्रिक शक्तिहरुको सहकार्य आवश्यक भएको बताएका हुन् ।
उनले यसका लागि अलमल गर्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘आजको चुनौतिको सामना गर्न पुस्तान्तरित नेतृत्वको अगुवाइमा संविधान निर्माण गर्दाका बखतका संविधानपक्षधर शक्तिहरुको एकता नै हो । राज्यका प्रायः सबै अंग र निकायहरु निरीह, भयवित, त्रसित र लाचार जस्ता भएका छन् । संवैधानिक प्रक्रियाको स्वचालनको लागि वाम लोकतान्त्रिक शक्तिहरुको सहकार्य आजको आवश्यकता हो । अरु कुरामा अलमलिनु विषयान्तर नै हो ।’
उनले वामपन्थी एकताकाबारेमा भने आशंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘वामपन्थी शक्तिहरुको एकता कर्णप्रिय र आवश्यक विषय पनि हो, तर त्यसको लक्ष्य नेतृत्वको संकट टार्ने वा नेतृत्वको पुस्तानतरण नगर्ने कलुसित भावनाबाट निर्देशित हो कि ? आन्दोलनको रक्षाको लागि हो ? प्रश्न गहन छ ।’
