एजेन्सी । आईसीसी महिला टी-२० विश्वकप २०२६ ग्लोबल क्वालिफायर अगाडि भएको अभ्यास खेलमा नेपाल विजयी भएको छ । सोमबार दिउँसो भएको खेलमा नेपालले अमेरिकालाई ४ विकेटले हराएको हो ।
जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि पुजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ३३ बलमा ३ चौका र दुई छक्का प्रहार गरिन् । यस्तै कप्तान इन्दु बर्माले नटआउट ३८ र विन्दु रावलले १३ रन बनाए ।
अमेरिकाको लागि ऋतु सिंह र गितिका कोडाईले समान दुई/दुई विकेट लिए ।
यसअघि अमेरिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । अमेरिकाको लागि इशानी भाघेला ४० र अदितिबाले ३३ रन बनाए ।
नेपालको लागि कविता कुँवरलले दुई तथा सोमु विष्ट र रिया शर्माले समान एक/एक विकेट लिए ।
