काठमाडौं । सहआयोजक मेक्सिको फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा पुगेको छ । बुधबार बिहान भएको अन्तिम ३२ को खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिकोले विश्वकपको नकआउट चरणमा ४० वर्षपछि पहिलो जित निकालेको हो ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोलाई जित दिलाउन जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक/एक गोल गरे । मेक्सिकोले पहिलो हाफमै दुई गोल गरेको हो । खेलको २२ औं मिनेटमा क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई शुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा मेक्सिको २-० गोलले विजयी भएको हो । अब मेक्सिकोले अन्तिम १६ मा आज राति इंग्ल्याण्ड र डी’आर कंगोबीच हुने खेलको विजेतासँग खेल्नेछ ।
