एजेन्सी । युवा फरवार्ड गोन्जालो गार्सियाले ह्याट्रिक पूरा गरेपछि स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा म्याड्रिडले रियल बेटिसमाथि ५-१ गोलको सहज जित निकालेको हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा बेटिसलाई जित दिलाउन गार्सियाले ह्याट्रिक पूरा गर्दा एसेन्सियो र फ्रान्सिस्को गार्सियाले एक गोल थपे । बेटिसको लागि जुआन हर्नान्डेजले एक गोल गरे । खेलको २० औँ मिनेटमा रोद्रिगोको पासमा गार्सियाले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।
५० औँ मिनेटमा गार्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ५६ औँ मिनेटमा एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ६६ औँ मिनेटमा हेर्नान्डेजले गोल गर्दै बेटिसलाई ३-१ गोलको स्थितिमा ल्याए ।
८२ औँ मिनेटमा गार्सिया व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर म्याड्रिडलाई ४-१ गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै म्याड्रिडलाई ५-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड १९ खेलबाट ४५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेल्दै २८ अंक जोडेको बेटिस छैटौँ स्थानमा रहेको छ ।
