नेत्रहीन महिला क्रिकेट टोलीलाई १८ लाख प्रदान

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेत्रहीन महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला क्रिकेट टोलीलाई  १८ लाख ५० हजार प्रदान गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले खेलाडीलाई जनही  एक लाख र व्यवस्थापकलाई ५० हजार प्रदान गरेका हुन् ।  गत कात्तिक २४ देखि मङ्सिर ७ गतेसम्म भारत र श्रीलङ्कामा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाली टोलीकी कप्तान गीता पौडेलले भनिन्, “हाम्रा लागि खेल अभ्यास गर्ने मैदानको खाँचो छ । कामपाले हाम्रा लागि त्यो पूर्वाधार उपलब्ध गराउँछ भन्ने विश्वास गरेका छौँ ।”
कार्यक्रममा टोली नेता पवन घिमिरेले भने, “खेलाडीलाई बोलाएर गरिएको यो कार्यक्रम सम्मान मात्र होइन । खेलाडीलाई प्रदान गरिएको पहिचान र हौसला पनि हो । यो अमूल्य छ । हाम्रो अपेक्षा भनेको कामपाले पारा स्पोर्टस एकेडेमी बनाउँछ भन्ने हो ।”

विश्वकप उपविजेता टोलीमा सुस्मा तामाङ, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुनिता भुजेललगायत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *