सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि राहुललाई

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को उद्घाटन प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले प्रभावशाली प्रदर्शन गर्दै उपाधि हात पारेका छन् । राहुलले प्रो र एमेच्योर दुवै विधाको उपाधि जित्दै आफ्नो करियरको तेस्रो उपाधि सुरक्षित गरेका हुन् ।

अन्तिम दिन ४–अन्डर ६८ को उत्कृष्ट कार्ड खेल्दै राहुलले समग्रमा १४–अन्डर २७४ स्कोर बनाए । उनले प्रो खेलाडी जयराम श्रेष्ठ लाई १४ स्ट्रोकको फराकिलो अन्तरमा पछि पार्दै उपाधि रक्षा गर्न सफल भए । प्रतियोगिताको सुरुवातमै ५ स्ट्रोकको अग्रता बनाएका राहुललाई अन्तिम १८ होलमा कुनै पनि खेलाडीले चुनौती दिन सकेनन् ।

प्रो वर्गमा शीर्ष स्थानमा रहेका जयराम श्रेष्ठले अन्तिम दिन ५–ओभर ७७ खेलेर समग्रमा इभन–पार २८८ स्कोरका साथ दोस्रो स्थानमा चित्त बुझाए । उनले प्रो विजेताका रूपमा १ लाख ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

तोरणविक्रम शाही र भुवन नगरकोटी ले समग्रमा २–ओभर २९० स्कोर गर्दै संयुक्त तेस्रो स्थान हासिल गरे । तोरणले अन्तिम दिन इभन–पार ७२ र भुवनले ४–अन्डर ६८ खेले। दुवैले जनही १ लाख १२ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।

नेपालका नम्बर एक प्रो गल्फर निरज तामाङ ले समग्रमा ३–ओभर २९१ स्कोरसहित पाँचौँ स्थान हासिल गरे। उनले अन्तिम दिन ३–अन्डर ६९ खेलेर ८२ हजार रुपैयाँ नगद पुरस्कार जिते ।

भुवन कुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा समग्रमा ४–ओभर २९२ स्कोरसहित संयुक्त छैटौँ स्थानमा रहे। यस समूहले जनही ६४ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । रूबेनले अन्तिम दिन २–अन्डर ७० खेलेर एमेच्योरतर्फ दोस्रो स्थान पनि सुरक्षित गरे ।

अर्का एमेच्योर साम डोबलार्ड समग्रमा ८–ओभर २९६ स्कोरसहित दशौँ स्थानमा रहे ।

७२ होलको यस प्रतियोगितामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ खेलाडीको सहभागिता थियो। कट बनाएका १८ प्रो गल्फरले नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घले ले पुरस्कार वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *