काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनमा आएको छ । सरकारले अंग्रेजी नयाँवर्षको अवसर पारेर यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणाली सुरुवात गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत, उनीहरूको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न, उनीहरूको नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन तथा विश्व स्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने विश्वास लिएको बताए ।
यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान–प्रदान प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने जनाइएको छ ।
