डंगोल र राजदूत पुइग–इञ्जाबीच नेपाली चलचित्र उद्योग र फ्रान्सेली चलचित्र उद्योगको सहकार्यबारे छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वा पुइग–इञ्जालाई काठमाडौँ फिल्म फेस्टिभलमा सहभागी हुन निमन्त्रणा दिएकी छन् । शिष्टाचार भेटका लागि कार्यवाहक प्रमुखको कार्यकक्षमा आएका बेला उनले निम्ता दिएकी हुन् ।

कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदाको अनुभव सुनाउँदै कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँ फिल्म फेस्टिभलका लागि सिकाइ गर्ने स्पष्ट लक्ष्यसहित आफू कान्स फिल्म फेस्टिभलमा सहभागी भएको बताइन् । ‘स्थानीय अर्थतन्त्रलाई चलचित्रमार्फत रचनात्मक उद्योगमा जोड्ने लक्ष्य हो ।’

डंगोलले भनिन्, ‘ठुलो पर्दामा पुग्नु अघि चलचित्र निर्माताले गर्ने अभ्यासका लागि प्लेटफर्म निर्माण गर्ने र कोठामा बसेका दर्शकलाई चोकमा र चोकसम्म आएका दर्शकलाई हलसम्म लैजान फेस्टिभलले योगदान गर्नेछ ।’

‘सिनेमाका अनेक आयाम छन् । यीमध्ये सांस्कृतिक पक्षको प्रवद्र्धनका लागि चलचित्र सशक्त माध्यम हो ।’ राजदूत पुइग–इञ्जाले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले आयोजना गरेको फेस्टिभलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चासो छ । यो महत्वपूर्ण पक्ष हो ।’

भेटका क्रममा चलचित्र उद्योगको विकासका लागि समावेशी आयाम, चलचित्र संस्कार, सहकार्य तथा समन्वय र कुटनीतिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस्तै नेपाली चलचित्र उद्योग र फ्रान्सेली चलचित्र उद्योगका बीच ज्ञान, सिप, दक्षता र अनुभव आदानप्रदानको सम्भावनाका विषयमा समेत कुराकानी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *