सरस्वती बहुमुखी क्याम्पसले मनायो ६७ औं वार्षिकोत्सव

काठमाडौँ । उच्च शिक्षाको लागि देशकै प्रतिष्ठित कलेजहरु मध्यका एक पुरानो शैक्षिक धरोहर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसले बिभिन्न कार्यक्रम सहित बिहीबार आफ्नो ६७ औं वार्षिक उत्सव मनाएको छ।
कार्यक्रममा शिक्षक, कर्मचारी, बिद्यार्थीका प्रतिनिधिहरुले शिक्षाको ब्यापारीकरण बढिरहेको अहिलेको अवस्थामा अत्यन्त सस्तोमा गुणस्तरीय शिक्षा दिने सरस्वती क्याम्पस जस्तो सरकारी शैक्षिक संस्थाहरुको महत्व बढेको बताए।

यस क्याम्पसको इतिहासमा पहिलो पटक राजनीतिक नियुक्ति नभई योग्यताको आधार (मेरिट) बाट हालै क्याम्पस प्रमुख चुनिएका डा. ठाकुरप्रसाद वाग्लेले अति राजनीतिकरणले सरकारी कलेजहरुमा नकारात्मक असर गरेको र सो कुरा सबैले मनन् गरी बिद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा क्याम्पस प्रमुख डा. वाग्लेले आफूले क्याम्पसको लागि भवन निर्माणको लागि पहल गर्नुका साथै नयाँ कार्यक्रम ल्याउने र भैरहेको कार्यक्रमलाई बिभिन्न शिफ्टमा पढाउन शुरु गरेको जानकारी गराएका थिए।

“म विद्यार्थीहरूको भौतिक पूर्वाधारमा ध्यान केन्द्रित गर्दै विषय र सिफ्टको संख्या बढाउन निरन्तर काम गरिरहेको छु,” डा. वाग्लेले वार्षिक समारोहलाई सम्बोधन गर्दै भने।

क्याम्पस प्रमुख डा. वाग्लेले शैक्षिक उत्कृष्टतामा कुनै पनि सम्झौता नहुने बताउदै नयाँ प्रबिधिहरुलाई क्रमशः आत्मसात गर्दै अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गरे।

“अहिलेको शिक्षाको उद्देश्य भनेको आलोचनात्मक चेतना सहितको अनुसन्धान मुखी जनशक्ति उत्पादन गर्ने नै हो त्यसका लागि समय सापेक्ष हामीले बिज्ञान र प्रबिधि र आई टी लगायतका प्रविधिलाई पनि क्रमबद्द रुपमा शुरु गर्दै गएको र त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्न चाहन्छु।“

कार्यक्रममा शिक्षक प्रतिनिधि उपप्राध्यापक बालकृष्ण शर्माले कलेजमा शैक्षिक उत्कृष्टता सुनिश्चित गर्न राजनीतिबाट माथि उठेर सबै शिक्षक, बिद्यार्थी र कर्मचारी सबैले क्याम्पसमा राम्रोसंग पढ्ने वातावरण बनाउनुपर्ने बताए।

वार्षिक उत्सवमा आफ्नो धारणा राख्दै बिद्यार्थी संगठनका अध्यक्षहरु राजेश बाबु बगाले (अखिल क्रान्तिकारी), लोकमणि जोशी (अखिल) र मन्दिप सिंह ठकुरी (नेविसंघ) ले बिद्यार्थीहरुको लागि शान्तपुर्वक पठनपाठन गर्ने वातावरण सिर्जना गर्नुको साथै आवस्यक भौतिक संरचनाको लागि पहल गर्न क्याम्पस प्रशासनसंग माग गरेका थिए।

राजधानीको मुटुमा अवस्थित सरकारी स्वामित्वको प्रतिष्ठित कलेजले पत्रकारिता सहित हाल १४ वटा बिभिन्न कार्यक्रमहरुमा करिब नौ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

इतिहासका शिक्षक डा. अच्युत अधिकारीले आफ्नो कवितामार्फत अत्यधिक राजनीतिकरणका कारण ऐतिहासिक क्याम्पसमा हाल गुज्रिरहेको सबै कठिनाइहरू औंल्याउनुका साथै त्यस्तो अवस्था अब परिवर्तन हुनुपर्ने बताए ।

क्याम्पस प्रमुख डा. वाग्लेले आ–आफ्नो विषयमा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरे। कार्यक्रममा लक्ष्मी न्यौपाने र प्रकृति परियार लगायतका दर्जनौ विद्यार्थीहरूले आफ्नो नृत्य प्रदर्शन गरेका थिए भने अन्य विद्यार्थीहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कलेजले वार्षिक उत्सव मनाउने क्रममा खेलकुद–सप्ताह आयोजना गरेको थियो जसमा विद्यार्थीहरूले फुटबल, बास्केटबल, टेबल टेनिस, भलिबल, चेस, हाजिरी जवाफ, निबन्ध लेखन, र टग–अफ–वार (डोरी तान्ने) प्रतियोगिता लगायत विभिन्न खेलहरूमा भाग लिएका थिए।

क्याम्पस प्रमुख डा. वाग्लेले खेलकुद सप्ताहमा आयोजित प्रतियोगिताहरूमा विजयी सबै विद्यार्थीहरूलाई पदक पनि वितरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *