भक्तपुर । प्रत्येक विद्यालय र विद्यार्थीलाई वातावरण संरक्षणसँग जोडेर विद्यालय हुँदै घरसम्म वातावरणमैत्री बनाउन मध्यपुरथिमि नगरपालिकाबाट ‘वातावरणमैत्री विद्यालय र विद्यार्थी’ अभियान सुरू गरिएको छ ।
प्रत्येक साता भक्तपुर जिल्ला सरसफाइ र वातावरण संरक्षणको कार्य गर्दै आएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान प्रवद्र्धन केन्द्र, नेपाल’ले मंगलबार मध्यपुरथिमि–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट अभियान सुरू गरिएको हो ।
कार्यक्रममा नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले तरकारीको बीउ र बिरुवा रोप्दै सुरू गरिएको अभियान आज सातवटा विद्यालयमा एकैसाथ सुरु गरिएको हो । उनले नगरपालिकाले प्रत्येक विद्यालयलाई योगमय र वातावरणमैत्री बनाउन कार्यपालिका बैठकबाटै निर्णय गरी लागू गर्ने तयारी गरेको बताए ।
कार्यक्रममा मध्यपुरथिमि–३ का वडाध्यक्ष एवं आस्था महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि आचार्यले प्रत्येक विद्यालय वातावणमैत्री र प्रत्येक विद्यार्थीमा वातावरण सफा राख्नुपर्ने चेतना पुर्याउन सके समाज सफा हुने बताए ।
कार्यक्रममा ‘राष्ट्रका लागि दुई घण्टा अभियान प्रवद्र्धन केन्द्र, नेपाल’ का अध्यक्ष मधु ढुङ्गेलले प्रत्येक शनिबार बिहान दुई घण्टा सरसफाइ र वातावरण संरक्षणको क्षेत्रमा काम भइरहेको बताए ।
अभियानका महासचिव नवराज काफ्लेले मध्यपुरथिमि नगरपालिकाभित्र मध्यपुरथिमि–३ को आस्था महिला विद्यालय, कौशलटारको कौशल्टार इङ्लिस सेकेण्डरी स्कुल, चाँगुनारायण नगरपालिका–२ दुवाकोटको मित्रश्री पाठशाला, सूर्यविनायक नगरपालिका–५ कटुञ्जेको कटुञ्जे आधारभुत विद्यालय, सोही ठाउँको युनिक एकेडेमी सेकेण्डेरी स्कुल र गणेश आधारभुत विद्यालयमा आजदेखि अभियान सुरु गरिएको जानकारी दिए ।
