दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-६ भुरुङ्गेमा रहेको गण्डकी मल्टिपल कलेज(जिएमसी)का विद्यार्थी क्षितिज पौडेलले त्रिभुवन विश्वविद्यालय(त्रिवि)द्वारा सञ्चालित बिबिएस चौथो वर्षको नियमित परीक्षामा नगरपालिका टप गरेका छन् । पौडेलले शुक्रबार त्रिविद्वारा प्रकाशित नतिजामा ७३.४ प्रतिशतसहित नगरपालिका टप गरेका हुन् ।
पौडेलले लगातार दोस्रो वर्ष नगरपालिका टप गरेका हुन् । यसअघि उनले बिबिएस तेस्रो वर्षको परीक्षामापनि टप गरेका थिए । नेपाल समाजसँगको कुराकारीमा पौडेलले लगातार दोस्रो वर्ष पालिकामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनले भने, “लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट नतिजा आउँदा खुशी छु र यस नतिजाको लागि कलेज प्रशासन, गरुजन र साथीहरुप्रति आभारी छु ।”
त्रिविले गत जेठ महिनामा लिएको परीक्षामा जिएमसीबाट नियमिततर्फ ३० जना सम्मिलित रहेकोमा २२ जना उत्तीर्ण भएको कलेज प्रशासनले जनाएको छ । पछिल्लो समय जिएमसीले लगातार उत्कृष्ट नतिजा दिँदै आएको छ । यसअघि जिएमसीबाट २०८१ सालको बिबिएस पहिलो वर्षको परीक्षामा अन्जना राईले ८४ प्रतिशत प्राप्ताङ्क हासिल गर्दै नेपाल टप गरेकी थिइन् ।