अख्तियारले प्रमाणमा आधारित अनुसन्धानमार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्छः कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनमार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने बताएकी छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका पदाधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आयोगप्रति नागरिकको विश्वास बलियो हुनुपर्नेमा जोड दिइन् । उनले अख्तियारको प्रभावकारिता डर र दबाबका आधारमा नभई कानुनी प्रक्रिया, तथ्य र प्रमाणमा आधारित अनुसन्धान तथा निष्पक्ष अभियोजनबाट मापन हुनुपर्ने धारणा राखिन् ।

मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले निष्पक्ष रूपमा काम गर्दै नागरिकमा विश्वासको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

मन्त्री गौतमले भनिन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग बलियो हुनुपर्छ भन्ने विषयमा कुनै शंका छैन । सरकार त्यसमा अडिग नै छ । तर संस्थाको बल चाहिँ त्रास सिर्जना गरेर हामी बलियो छौं भनेर देखाउने संस्था हुनुहुँदैन । यो निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्नका लागि प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ ।’

उनले भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्ने भए पनि इमान्दार कर्मचारी नै त्रसित हुने अवस्था सिर्जना भएमा त्यसले समग्र राज्य संयन्त्रको कामकारबाहीमा नकारात्मक असर पर्ने बताइन् । उनले संवैधानिक निकायको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्ने कुनै पनि गतिविधि हुन नहुने बताउँदै उजुरी परेकै आधारमा हतारमा अभियोजन गर्ने प्रवृत्ति गलत हुने स्पष्ट पारिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *