आर्सनलको खराब प्रदर्शन जारी, सिजनको नवौं हार

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो खराब लयलाई निरन्तरता दिएको छ । सिजनको नवौं हार बेहोर्ने क्रममा आर्सनल मंगलबार राति वोल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा वोल्भ्सले पछि परेको स्थिती उल्टाउदै जित निकालेको हो । वोल्भ्सलाई जित दिलाउन रुबेन नेभेस र जोए मोउटिन्होले एक/एक गोल गरे । आर्सनलको लागि निकोलस पेपेले गरेको गोल सान्त्वनामा सिमित रह्यो । ३२ औं मिनेटमा लाकाजेट्टेको पासमा निकलोस पेपेले गोल गर्दै आर्सनललाई खेलमा अगाडि बढाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा डेभिस लुइसले विपक्षी खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि उनलाई रेफ्री सिधैं रातो कार्ड देखाएका थिए । उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै रुबिन नेभेसले गोल गर्दै वोल्भ्सलाई बराबरीमा ल्याए । ४९ औं मिनेटमा पेड्रो नेटोको पासमा मोउटिन्होले गोल गर्दै वोल्भ्सलाई अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा बेर्न्ड लेनोले रातो कार्ड खाएर मैदान छोडेपछि आर्सनल ९ खेलाडीमा झरेको थियो । बाँकी समयमा थप गोल हुन नसक्दा वोल्भ्सले २-१ गोलको जित निकाल्यो । जितका बाबजुद वोल्भ्स २२ खेलमा २६ अङ्क जोड्दै १४ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *