राजनीतिक विचारहरु नारामा सीमित

-राजेन्द्र गुरुङ ।

नेपालको राजनीति विचार, सिद्धान्त अनि निष्ठाको दृष्टिकोणले पूर्णरुपमा स्खलित भयो भन्दा अत्युयुक्ति नहोला । एतिहासिक, संस्थागत, सांस्कृतिक र व्यक्तिगत धेरै कारणहरुका कारण देश राजनीतिक अस्थिरता, भ्रष्टाचारको दलदलमा डुबेको छ । नेपालको राजनीतिमा विचारधाराहरु प्रायः नारामा मात्र सीमित रहे । विचारलाई सत्ता प्राप्तिको औजारको रुपमा प्रयोग गरे अर्थात व्यवहारमा विचार, सिद्धान्तभन्दा सत्ताको स्वार्थ प्राथमिक बन्यो ।

नेपालका राजनीतिक दलहरु विचार र सिद्धान्त अनुरुप भन्दा अवसरको फाइदाको लागि चल्न थाले फलतः जनतामा विश्वासको संकट उत्पन्न गरायो । राजनीतिकर्मीहरु पद, शक्ति र व्यक्तिगत महत्वाकांक्षाको लागि विचारबाट स्खलित हुने, पार्टी परिवर्तन गर्ने, गठबन्धन तोड्ने व सत्तामा टिकिरहने उपाय खोज्ने प्रवृत्तिले निष्ठा नाश गर्यो । सिद्धान्तानुरुप नचल्दा नैतिकता रहेन, नेताहरु आफूलाई अभिजात वर्गको रुपमा प्रस्तुत हुने संस्कारले नागरिकको पीडालाई उपेक्षा गरे ।

लोकतन्त्र र प्रजातन्त्रको रट लगाउन नथाक्नेहरुले आफ्नो पार्टीभित्र लोकतन्त्र र प्रजातन्त्रको मर्मलाइ पूर्णरुपमा उपेक्षा गरे । संवैधानिक अंगहरु स्वायत हुन नसकि दलगत प्रभावमा पर्नु अर्को दुर्भाग्य हुन पुग्यो । वैचारिक बहस, सार्वजनिक नीति, शिक्षा प्रणाली, राष्ट्रको मार्गदर्शन जस्ता गहन बिषयहरुमा राज्य पूर्णरुपमा निरपेक्ष हुँदा नागरिकमा निराशा व्याप्त भयो फलतः भावनात्मक नाराले लामो अवधिका वैचारिक मुद्दा ओझेलमा पुग्न गयो ।

विचार र नीति भन्दा पनि आर्थिक लाभ र पदको लागि राजनीति गरिने प्रवृत्तिले नेपालको राजनीति जनसेवाभन्दा व्यवसाय बन्न पुग्यो । सिद्धान्तविहीन गठबन्धन, असामान्य सत्तासाझेदारी, अनियमितताको पराकाष्ठाले नैतिक मूल्यमान्यताको अवसान गरायो ।यि अनि यस्तै कारणले मुलुकको दुर्दशा भएको छ, राजनीति हाम्रो भाग्य निर्धारण गर्ने नीति हो, राजनीतिलाई व्यापार बनाउन दिन हुँदैन ।

विचार, इतिहास र मूल्यविना राष्ट्र अघि हिँड्न सक्दैन तसर्थ यदि हमीले आज बोलेनौं भने भोलिको पुस्ताले इतिहासले हामीमाथि प्रश्न उठाउनेछ । अब पनि नेपाल र नेपालीले समयमा नै बोध गरेर मुलुकलाई यो दुर्दशाबाट मुक्त गराउन ढिलो गर्ने हो भने सात गाउँ माझी बसी गाउँ जोगाउने सल्लाह गर्दाको नियति हामीले भोग्न नपरोस् !

लेखक राप्रपाका महामन्त्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *