काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन पाँच कर्मचारी तथा जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, तत्कालीन वडा अध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा वडा नम्बर ९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको उजुरीपछि गरिएको अनुसन्धानमा उनीहरूको मिलेमतोमा रकम हिनामिना भएको पाइएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार वडा अध्यक्ष तामाङको दायाँ हातको बुढीऔँलाको छाप ३६० पटक प्रयोग गरेर विभिन्न चौमासिकमा २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिइएको थियो ।
त्यसैगरी, लाभग्राहीको नाम दोहोरो राख्ने, मृत्यु भइसकेका व्यक्तिको लगत कट्टा नगर्ने र बसाइँसराइ गरेर अन्यत्र गइसकेका व्यक्तिको नाममा समेत भत्ता वितरण गरेको देखाएर रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।यस्ता गलत विवरण र अभिलेखका आधारमा पेश्की फछ्र्योट गराई थप दुई लाख ५२ हजार रुपैयाँ अनियमितता गरिएको आयोगले जनाएको छ ।
अख्तियारले दर्जीविरुद्ध नौ लाख ५३ हजार ६००, गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० र चौधरीविरुद्ध सात लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरेको छ । त्यस्तै, वडा अध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ११ अनुसार सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी अभिलेख बदनियतपूर्वक हेरफेर गरेको कसुरमा कारबाहीको माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
आयोगले बिगो असुल, बिगो बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको मागदाबी गरेको छ ।



