काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।
त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अवगत गराए ।
भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराए ।
यसैगरी, सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताए । संसदमा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राखेका थिए भेटमा अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो।
