काठमाडौँ । पुरातत्व विभाग र काठमाडौं क्षेत्र नम्बर ४ का पूर्वसांसद गगन थापालाई काठमाडौँ महानगरपालिकाले जवाफी पत्र पठाएको छ ।महानगरपालिकाले थापालाई कमलपोखरीमा उनका पहलमा भएका कामहरूको विवरण पठाउन भनेकाे छ।
महानगरपालिकाले पुरातत्व विभागलाई कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको आरोप लगाएको छ । महानगरपालिका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पत्र नै काटेर कमलपोखरीमा कंक्रिट प्रयोग भएको विवादका विषयमा पुरातत्व विभागले आफूहरुसँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
‘टेण्डर प्रक्रियामार्फत विगत दुई वर्षदेखि भइरहेको कमलपोखरी निर्माणको कामको बारेमा काठमाडौं महानगरपालिकासँग कुनै राय परामर्श नगरी एकपक्षीय रुपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायबीच समन्वय नभएको सन्देश प्रवाह हुने तथा पुरातात्विक तथा धार्मिक महत्वका स्मारकको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ,’ पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचार पुर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ ।’
काठमाडौं महानगरपालिका र वडा नम्बर-१ काठमाडौं महानगरपालिकाको नाममा लेखेको पत्र संख्या ०७७/०७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नु अघि नै विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको भन्दै विभागलाई महानगरपालिकाले ध्यानाकर्षण गराएको छ।
