उग्रकुराले उडाउने त होइन !

काठमाडौं । गत चैत १५ गते राजावादीको आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ दुई जनाको मृत्यु भयो भने करोडौंको भौतिक सम्पत्ति क्षति भयो । घटनापछि प्रहरीले कयौंलाई पक्राउ गरेर मुद्दा चलाएको छ । फेरि यस्तो घटना दोहोरिन नदिन सरकार राजावादीप्रति कडारुपमा भएको छ । चैत १५ पछि चुपचाप बसेका राजावादी फेरि जुर्मुराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादी संगठनले वर्तमान व्यवस्था नै बदल्ने उद्देश्यले जेठ १५ गतदेखि जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । जनआन्दोलन घोषणा गरेसँगै उनीहरुले कार्यकर्ता भेलादेखि समर्थन जुटाउन विभिन्न संगठन, पार्टी र व्यक्तिसँगको अन्तरक्रियालाई तीब्र बनाएका छन् । जनआन्दोलनको तयारीका क्रममा मंगलबार बिहान काठमाडौँका सबै स्थानीय तहका अगुवा कार्यकर्ता भेलालाई राखिएको थियो । भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि जेठ १५ देखि सुरु हुने आन्दोलन निर्णायक हुने बताए । उनले आन्दोलनबाट प्रधानमन्त्री नै भाग्नु पर्ने अवस्था सिर्जना हुने बताए । उनले भने, ‘भाग त भन्नु भएन नि । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने ।’

लिङ्देनको उग्र अभिव्यक्ति यो नै पहिलो भने होइन । राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले वैशाख २५ गते काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको बताएका थिए । उनले नयाँ सम्झौतामा जानुपर्ने र राजादेखि सबै शक्ति अटाउनुपर्ने बताए । लिङ्देनले आफूहरुको प्रस्तावलाई नस्वीकारी गणतन्त्र पक्षधरले दमनको बाटो लिए बढारिने चेतावनी दिए । उनको चेतावनी थियो, ‘अब बल सरकारको कोर्टमा छ । तपाईंहरु के चाहनुहुन्छ ?’

अध्यक्ष लिङ्देन मात्र होइन, राप्रपाका अरु नेताहरु अहिले दैनिक व्यवस्था र दलका नेताहरुविरुद्ध अभिव्यक्ति दिइरहेका छन् । यसरी लिङ्देनले प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकप्टरको समेत व्यवस्थाको कुरा गरेको विषयले भने उनी आलोचित बनेका छन् । नेकपा एमालेका सांसद सूर्य थापाले तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरुले कसरी बुझौं ? भन्दै लिङ्देनलाई प्रश्न गरेका छन् । उनले भने, ‘माननीय लिङ्देनजी, धेरै ठूलो कुरा गर्नु भएछ, जानकारी भयो । बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकप्टरको समेत व्यवस्थाको कुरा गर्नुभएछ– थाहा भयो । अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरु आन्दोलनबाटै आएकाहरु हुन्, जसले आन्दोलनमा लागे बापत आफूलाई दशकौं बिना कसुर, बिना मुद्दा कालकोठरीमा राख्यो, अङ्भङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरुले आन्दोलन सफल भएपछि– ‘फर्गिव नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ भनेनन् ।’

उनले निषेधकारी दृष्टिकोण त्यागेर ठण्डा दिमागले सोच्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरुले कसरी बुझौं ? प्रतिस्पर्धा–सहअस्तित्व–सहकार्यको रुपमा कि, ‘कि तँ छैनस्–कि मँ छैन’को निषेधकारी दृष्टिकोणमा ? एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जुनसुकै शर्त मञ्जुर छ । जनताले पराजित गरेकाहरु संविधानको धारा २७० जपिरहनु भएको छ, तपाईंको त उम्रिदै होइन, नउम्रिदै तीन पात देखिँदै छ !’

राजनीतिक विश्लेषक डम्बर खतिवडा लिङ्देनको अभिव्यक्ति टिठलाग्दो भएको टिप्पणी गर्छन् । उनको टिप्पणी छ, ‘सुन्नुभो–राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई देश छोडेर भाग्ने हेलिकप्टर सुविधा दिने रे ! जब लिङ्देन, कमल थापा, दुर्गा प्रसाईं, जगमान गुरुङ, राजेश अहिराज, सर्वेन्द्र खनालजस्ता पात्रले समेत ओली–प्रवृतिलाई लल्कार्छन् नि–मजाककै अन्त्य, दृष्य सर्वाधिक टिठलाग्दो र करुणामय बन्न पुग्छ ।’
दुर्गा प्रसाईंले पनि चैत १५ मा पूर्वराजालाई नारायणहिटी भित्राउने भन्दै घोषणा गरेका थिए । तर आन्दोलन हिंसात्मक भइ दुई जनाको ज्यानै गयो भने कार्यक्रमका आयोजक प्रसाईं नै भागेर भारत पुगे । पछि उनलाई प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएर मुद्दा चलाएको छ ।

अहिले राप्रपा अध्यक्ष लिङ्देन पनि उग्र अभिव्यक्ति दिँदै हिँडेका छन् । कतै उनीहरुले भनेको जनआन्दोलन पनि चैत १५ को तीनकुने घटना जस्तै भयो भने नि ? अनि अहिलेको उनको उग्र अभिव्यक्तिले कतै आफैंलाई त उडाउने होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *