काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले प्राकृतिक विपत्ति र पछिल्ला राजनीतिक घटनाक्रमका कारण संकटमा परेको नेपालको अर्थतन्त्रलाई पुनः उकास्न राष्ट्रिय एकता, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् ।
सामाजिक संजालमार्फत रिजालले २०७२ सालको भूकम्प र नाकाबन्दीबाट थलिएको नेपालको अर्थतन्त्र गतवर्ष भदौ २३ र २४ गतेको घटनाले थप कमजोर बनाएको र यस वर्षको भोटेकोशी बाढीले अकल्पनीय क्षति थपेको बताएका हुन् ।
रिजालले सरकारका अपरिपक्व, प्रतिशोधपूर्ण र देखावटी गतिविधिका कारण अर्थतन्त्र निष्क्रिय र संकटग्रस्त अवस्थामा पुगेको दाबी गरेका छन् । यस्तो अवस्थाबाट अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन सानोतिनो प्रयासले मात्रै सम्भव नहुने उनको भनाइ छ ।
संकटको समयमा सहयोगका हात फैलाएका दुवै छिमेकी मुलुक, संवेदनशील अन्तर्राष्ट्रिय समुदाय तथा नेपालले वैधानिक रूपमा दाबी गर्न सक्ने जलवायु न्यायका माध्यमबाट मुलुकलाई संकटबाट माथि उठाउन सकिने रिजालले बताएका छन् ।
उनले मुलुकको नेतृत्वमा रहेका व्यक्तिहरूमा दम्भ, अहंकार र घमण्ड नभए राष्ट्रिय एकता, सहकार्य र ऐक्यबद्धताका माध्यमबाट संकटको सामना गर्न सकिने उल्लेख गरेका छन् ।
‘आवेगमाथि विवेक हाबी हुनेछ र यस्तो बेलामा स्टन्टभन्दा अनुभव सहयोगी सावित हुनेछ’ भन्ने अपेक्षा पनि रिजालले व्यक्त गरेका छन् ।
