फिलिपिन्समा फेरीमा आगलागी, पाँच जनाको मृत्यु, ८० भन्दा बढी बेपत्ता

मनिला । पश्चिमी फिलिपिन्सको पलावान टापुनजिक फेरीमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी बेपत्ता भएका छन्।

फिलिपिन्स कोस्ट गार्डका अनुसार बुधबार राति पलावानको कोरोननजिक समुद्रमा एमभी जुन एस्टर नामक फेरीमा आगलागी भएको थियो। घटनापछि ४३ जनाको उद्धार गरिएको छ।

कोस्ट गार्डले सार्वजनिक गरेको दृश्यमा फेरीको केही भाग आगोले जलेको र उद्धारकर्मीहरूले शवहरूलाई शव झोलामा राख्दै गरेको देखिन्छ।

कोस्ट गार्डकी प्रवक्ता कमोडोर नोएमी कयाबयाबका अनुसार जहाजको यात्रु विवरणमा ११७ यात्रु र १७ जना चालक दलका सदस्य रहेको उल्लेख छ।

उद्धार गरिएका र मृत्यु भएकाहरूको संख्याका आधारमा ८० जनाभन्दा बढी अझै बेपत्ता रहेको उनले बताइन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले बेपत्ताको संख्या परिवर्तन हुन सक्ने उनको भनाइ छ।

फेरी मनिलाको बेस्कोबाट पलावानको कोरोनतर्फ जाँदै थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको कोस्ट गार्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *