यतिबेला सबैभन्दा ‘देशद्रोही’ रविन्द्र नै हुन् ?

-नारायण गाउँले ।

अति गर्न पनि हुँदैन । सङ्गठित अपराध र राज्यद्रोह ! यिनले राज्यलाई नै टुक्राउने, ध्वस्त बनाउने, राज्यको जग र अस्मिता नै खलबल्याउने काम गरेको भन्दै राज्यद्रोहजस्तो अत्यन्त गम्भीर आरोप लगाइएको छ ! कि उनी रहन्छन् कि राज्य रहन्छ जस्तो खतरनाक अपराधीका रूपमा उनलाई एक महिनाभन्दा बढीदेखि अनुसन्धान गर्ने भन्दै थुनिएको छ ।

अझ अपराधीहरूको सङ्गठन नै बनाएर देश र नागरिक विरुद्ध भयङ्कर अपराध गरेको भन्दै भोलि राजनैतिक या सामाजिक जीवन नै समाप्त गर्ने गरी सङ्गठित अपराधको आरोप पनि छ । मुद्दा दर्ता गरे यति गम्भीर आरोप प्रमाणित हुने आधार नभएरै होला, अनुसन्धान भन्दै सकेजति हिरासतमा कोच्ने काम हुँदै छ । उनी बाहिर आउनासाथ नागरिक र राज्यलाई गम्भीर क्षति पुग्ने र प्रमाण नष्ट हुने भन्ने तर्क रहेछ ।

शक्ति छ, हत्कडी छ, कानुनका बहुअर्थी धारा पनि छन् । आज समय पनि आफ्नो साथमा होला । तर यसरी फरक राजनैतिक आस्था र आन्दोलनको नाममा राज्यद्रोहजस्तो गम्भीर आरोप लगाएर नागरिकलाई सडाउन थाल्ने हो भने त्यसमा लोकतन्त्रको मूल्यचाहिँ रहन्न । घटनाको न्यायिक छानबिन पनि नगर्ने, व्यक्तिमाथि रिसिबीमात्रै साँधिरहने काम त लोकतान्त्रिक हुन सक्दैन ।

रविन्द्र मिश्रलाई राज्यद्रोहजस्तो सङ्गीन आरोपमा जेलमा राखेर देशको जग र अमनचयन बलियो हुन्छ नत्र बर्बाद हुन्छ भन्ने लाग्दैन । उनका पछाडि राज्यले खर्च गरेको यत्रो समय, साधनस्रोत र शक्ति बरु अन्य सिर्जनात्मक या नागरिक मुद्दामा लगाए यो देश र राज्य बलियो बन्ने थियो । राज्यद्रोहको परिभाषा नै बदल्न पर्ने गरी अतिमाथि अत्याचार किन होला ? स्मरण रहोस्, राज्यद्रोही भनेको देशको सबैभन्दा ठूलो र खतरनाक अपराधी हो । के यतिबेला देशको सबैभन्दा द्रोही र अपराधी यिनै हुन् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *