काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बिहीबार साँझ नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परिन् । विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत वीरगन्जकी प्रिसाको शव कलेज होस्टेलमा फेला परेको थियो । यसअघि केआईआईटी अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् । प्रिन्सा मृत्युको खबर बिहीबार राति आठ बजे स्थानीय प्रहरीले थाहा पाएको थियो । फागुनमा रुपन्देहीकी प्रकृति लम्सालको मृत्यु हुँदा त्यहाँ ठूलो हंगामा भएको थियो । त्यतिबेला विद्यार्थीहरू आन्दोलित हुँदा कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत नेपाली विद्यार्थीलाई चेतावनी दिएको थियो । प्रकृतिले आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर कलेज प्रशासनले वेवास्ता गर्दा उनले आत्महत्या रोज्नु परेको थियो । यतिसम्म भयो कि त्यतिबेला त्यहाँ अध्ययनरत धेरै नेपाली विद्यार्थी असुरक्षाका कारण स्वदेश फर्किनुसमेत परेको थियो । पछि भारत सरकारले सुरक्षाको प्रत्याभूति र घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता गर्दै विद्यार्थीका परिवारलाई सम्पर्क गरेको थियो ।
त्यसै घटनालाई मध्यनजर गर्दै त्यो बेलाको जस्तो कमजोरी अहिले नगर्ने प्रतिबद्धता प्रहरीले जनाइसकेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले प्रिस मृत्यु घटनाको छानबिनका लागि कुटनीतिक पहल थालेको बताएकी छन् । मन्त्री राणाले परराष्ट्र मन्त्रालयले घटना लगत्तै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छन् ।
अहिले प्रिसाको मृत्युको खबरपछि सर्वत्र चासो र चिन्ता छाएको छ । चासो र चिन्ताले मात्र यो विषय टुंगिएला त ? श्रृंखलावद्ध मृत्यु, त्यसमा पनि एउटै विश्वविद्यालयमा किन हुन्छ त ? सोचनीय विषय पनि बनेको छ ।
पूर्वशिक्षामन्त्री शिशिर खनाल यो घटनाबाट केआईआईटीमा नेपाली विद्यार्थीको सुरक्षामाथि प्रश्न उठेको बताउँछन् । उनी भन्छन्, ‘फेब्रुअरीमा प्रकृति लम्सालको निधनपछि विद्यार्थी सुरक्षा र व्यवस्थापनमा गम्भीर प्रश्न उठेको थियो, र यो केवल तीन महिनाभित्र भएको दोस्रो यस्तो गम्भीर घटना हो । यसले उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा संवेदनशिलता प्रश्न उठाएको छ । म भारत सरकारलाई दुवै घटनाको निष्पक्ष र पारदर्शी छानबिन सुनिश्चित गर्न तथा जवाफदेहीता कायम गर्न आग्रह गर्दछु ।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा घटनाको सत्यतथ्य छानबिनका लागि पहल गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताउँछन् । महामन्त्री शर्मा भन्छन्, ‘प्रकृति लम्सालको घाउ छँदैथियो, फेरि नेपाली विद्यार्थीको ’आत्महत्या’, उडिसाको त्यही विश्वविद्यालयमा । प्रधानमन्त्रीज्यू, मृत्युको सत्यतथ्य अविलम्ब खोजि गरियोस् ! नेपाली विद्यार्थीको अभिभावकत्वमा गम्भीर ध्यान पुगोस् ।’
चिकित्सक डा रामेश कोइराला स्नातक अघि विदेश अध्ययन जान रोक लगाउनुपर्ने बताउँछन् । पैसाको लोभमा नेपाली म्यागाजितमा केआईआईटीको विज्ञापन छापिउन्जेल यस्ता घटना भइरहने उनी बताउँछन् । उनी सामाजिक संजालमा लेख्छन्, ‘जबसम्म बुद्ध एयरको फ्लाइट म्यागेजिममा पैसाको लोभमा यस्ता विज्ञापन छापिइरहन्छ, जबसम्म स्नातकअघि विदेश गए भविष्यभन्दा समस्या धेर हुन्छ भन्न धक मानिइरहन्छ वा कता के पढ्दा बेस् भन्ने नजानेको सरकारको सहमतिमा माफियाले शैक्षिक मेला चलाइरहन्छन्, यो भइरहन्छ । दुःखद हो, तर भइरहन्छ ।’
अधिकारकर्मी मोहना अन्सारी विश्वविद्यालय अुरक्षित छ भन्ने थाहा पाउँदा पाउँदै विद्यार्थी जान दिनु नै कमजोरी भएको बताउँछिन् । उनी भन्छिन्, ‘अर्को आत्महत्या घटनाले केआईआईटीमा फेरि दुःखद स्थिति ल्याएको छ । यो केवल दुःखद मात्र होइन, तर अघिल्लो घटनामा सम्बन्धित निकायहरूलाई जवाफदेही नबनाएर हामीले ठूलो गल्ती गर्यौं । केही महिनाको अन्तरालमै यो दोस्रो घटना हो । यदि कलेजको वातावरण विद्यार्थीहरूका लागि पर्याप्त राम्रो छैन भने, हामीले तिनीहरूलाई त्यहाँ जान अनुमति किन दिएको ?’