असन बजारको ‘क्वारेन्टाइन'(भिडियोसहित)

-बालेन साह ।

केहीवर्ष पहिले कोभिडको बेला क्वारेन्टाइन शब्द यति प्रचलित थियो कि अझ पनि याद हुनुपर्छ । त्यस्तै क्वारेन्टाइन ३००–४०० वर्ष पहिले नि थियो, भोटमा व्यापार गरेर फर्किएकाहरूका लागि हुन्थ्यो । असनबाट बालकुमारीतर्फ अन्नपूर्ण मन्दिरसँगै रहेको स्मारक इतःचपा सत्रौँ शताव्दीमा निर्माण भएको संरचना हो । यो खासगरि नेपाल मण्डलबाट व्यापारका लागि भोट गएर फर्किने व्यापारीहरूका लागि निर्माण गरिएको मानिन्छ । परदेशमा गएर आउँदा आफूसँगै रोगव्याध आउन सक्छ, फर्किनेवित्तिकै परिवारसँग भेट गर्नु हुँदैन भनेर भोटमा व्यापार गरेर फर्किनेहरूले १५ दिन यहाँ क्वारेन्टिन बस्नु पथ्र्यो । त्यसपछि भोटाहिटीमा नुहाएपछि मात्र घर जान पाइन्थ्यो । यसरी हेर्दा इतःचपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब पनि हो ।

त्यो समयको हाम्रो सामाजिक चेतना प्रकट गराउने यो संरचना जीर्ण भएर प्रयोगविहिन थियो । यसले पैदलयात्रीहरूलाई समेत जोखिममा पारेको थियो । यो अवस्थामा रहेको संरचनालाई पुनःनिर्माण गरेर अहिले मौलिक स्वरुपमा फर्काइएको छ । सत्तलको अगाडिपट्टि पसलकवल छन् । पछाडिपट्टि भजन गर्ने स्थान र नास द्यःछेँ रहेका छन् । अभिलेखहरूमा सत्रौँ शताब्दीभन्दा अगाडि नै यसको निर्माण भएको पाइएको छ ।
काठमाडौँको व्यस्त व्यापारिक केन्द्र असन बजारको यो संरचना प्राचीन मौलिक कलाका दृष्टिले पनि महत्वपूर्ण छ । सत्तलका झ्याल, थाम, मेठ, बार्दली कलात्मक छन् । झिँगटीयुक्त छानोले सत्तलको सौन्दर्य प्रदर्शन गरेका छन् । पूर्खाको नासो, नेपाल मण्डलको मौलिक वास्तुकलाका अनुपम यी र यस्ता सम्पदा संरक्षण हाम्रो दायित्व हो । हामीले गौरवपूर्वक संरक्षण गरे नेपाल मण्डलको कलायुक्त पहिचान विश्वभर फैलिनेछ, सन्ततिले गौरवमय इतिहास महसुस गर्ने अवसर पाउनेछन्, यसबाट मौलिक कलाप्रति सम्मान जागृत हुनेछ ।

सभ्यता र कलाको यो उत्कृष्ठ संरचनालाई प्राप्त अभिलेखका आधारमा भएको पुनःनिर्माण अन्तिम चरणमा छ । आउँदो जेठ १५ गतेभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको सत्तलको पुनःनिर्माण लागत २ करोड ४९ लाख ३७ हजार ५७२ रुपैयाँ हो । काठमाडौँको प्राकृतिक एवं मौलिक मूर्त कलात्मक सभ्यता र अमूर्त सम्पदाको पहिचान, मर्मत सम्भार, संरक्षण र प्रवद्र्धनमा हाम्रो प्रतिवद्धताप्रति तपाईहरूको पनि अपनत्व रहेको छ भन्ने हाम्रो दृढ विश्वास हो । सबैप्रति आभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *