प्रज्जवल थापा । इटालियन सुपर कपको फाइनल खेलमा आज युभेन्टस र नेपोली भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ ।
स्टाडियो मपाईमा हुने खेल जित्दै दुवै टोली सिजनको पहिलो उपाधि जित्न चाहन्छन् । युभेन्टसले हालसम्म सुपरकप सर्वाधिक ८ पटक जितिसकेको छ । यस्तै नेपोलीले दुई पटक जितेको छ भने दुवै पटक नेपोलीले युभेन्टसलाई फाइनलमा हराएको थियो ।
युभेन्टस घरेलु लिगमा गत सोमबार इन्टर मिलानसँग २-० गोल अन्तरले पराजित भएको थियो । त्यसैले पनि युभेन्टस आजको खेल जित्दै विजयी पथमा फर्कन चाहन्छ । यता नेपोलीले भने लिगमा फोरेन्टिनामाथि ६-० गोलको फराकिलो जित निकालेको थियो । आज नेपोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ ।
दुई टोलीबीच भएको पछिल्लो २६ खेलमा १३ खेल युभेन्टसले जितेको छ भने ७ खेल नेपोलीले आफ्नो पोल्टामा पारेको थियो ।
