भोटेकोसी बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । नेपाल सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाएको छ ।

प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने प्रक्रिया समेत सुरु भइसकेको जनाइएको छ । त्यस्तै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको छ । स्थानीयलाई एसएमएस तथा फोनमार्फत जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

सम्भावित उद्धार तथा राहतका लागि उपलब्ध हेलिकप्टरहरूलाई प्रभावित क्षेत्रतर्फ पठाइएको पनि प्रधानमन्त्रीले बताएका छन् । निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न भनिएको छ भने केही निजी हेलिकप्टर प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेका छन् ।

बाढीपछिको अवस्थाबारे थप आवश्यक निर्णय लिन उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा उद्धार तथा सुरक्षा निकायबाट आउने आधिकारिक जानकारीको प्रतीक्षा गर्न अनुरोध गरेका छन् । थप जानकारी तथा राहतसम्बन्धी समन्वयका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *