भोटेकोसीको बाढी त्रिशूलीतर्फ बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको ठूलो बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रसम्म पुगेपछि नदी आसपासका बस्तीमा जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बिहान १०:२८ बजे सूचना जारी गर्दै बाढी गल्छी आसपास पुगेको र आगामी केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने अनुमान गरेको जनाएको छ ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सावधानी अपनाउन आग्रह गरेको छ । पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडक आसपास रहेका बस्ती र बजार क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार नदी किनार तथा तल्लो भूभागमा रहेका नागरिकले अनावश्यक रूपमा जोखिम क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

बाढीको बहाव अझै तलतर्फ जाने क्रममा रहेकाले त्रिशूली नदी आसपासका क्षेत्रमा आगामी केही घण्टा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *