रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी भन्छन्, स्याफ्रुबेसी र टिमुरे बजार पुरै बगायो

काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीले स्याफ्रुबेसी र टिमुरे बजारमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले बजार क्षेत्रका संरचना, सडक तथा पुलहरू बगाउनुका साथै जलविद्युत् आयोजनाहरूमा समेत क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार चीनको तिब्बततर्फबाट आएको बाढी बुधबार बिहान करिब ८:४० बजे नेपाली भूभागमा प्रवेश गरेको थियो ।

“स्याफ्रुबेसी र टिमुरे बजार पूरै बगाएको छ । धेरै जलविद्युत् आयोजना थिए र निर्माण भइरहेका थिए। ती आयोजनामा पनि बाढीले क्षति गरेको छ,” अधिकारीले बताए ।

उनका अनुसार बाढीको प्रभाव उत्तरगया र बेत्रावती क्षेत्रमा समेत परेको छ। त्रिशूली नदीमा सामान्य अवस्थामा रहने पानीको सतहभन्दा बाढीको बहाव करिब १५० देखि २०० मिटरसम्म माथि पुगेको उनले बताए । “अवस्था भयावह छ,” अधिकारीले भने ।

बाढीका कारण सडक तथा पुलहरू बग्दा विभिन्न क्षेत्रमा आवागमन प्रभावित भएको छ । उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्नसमेत कठिनाइ भइरहेको प्रशासनले जनाएको छ । बाढीले ठूलो भौतिक क्षति पुर्‍याए पनि मानवीय क्षतिको विस्तृत विवरण भने तत्काल प्राप्त हुन सकेको छैन ।

स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *