एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-१ गोलले हराएको हो ।
इस्टाडियो रामोन सान्चेज पुजुआनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेर्मिन लोपेज, राफिन्हा र इरिक गार्सियाले समान एक/एक गोल गरे । सेभिल्लाको लागि रुबिन भार्गासले एक गोल गरे । खेलको सातौँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
आठौँ मिनेटमा भार्गासले गोल गर्दै सेभिल्लालाई १-१ गोलको बराबरीमा ल्याए । ४६ औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए । ५५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए । ६२ औं मिनेटमा लोपेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ८९ औं मिनेटमा गार्सियाले गोल गर्दै बार्सिलोनालाई ४-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै बार्सिलोना २३ खेलबाट ४८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट २८ अंक जोडेको सेभिल्ला १३ औं स्थानमा रहेको छ ।