-नारायण पौडेल ।
रविजीले हालै प्रशिक्षणात्मक मन्तव्यमा बडो गहकिलो कुरा भनेका रहेछन्– बितेको ३५ वर्षलाई दोष दिने कुरा नगरौं । अबका ३५ वर्षमा के गर्ने भन्ने बारेमा ध्यान दिउँ । बीर अस्पतालको शौचालयमा अहिलेपनि पानी छैन । आचीले भरिएको हुन्छ । अस्पतालमा पानी सुचारु गर्न र अस्पताललाई सफा राख्न ५ दिनपनि लाग्दैन । तुरुन्त गर्न सकिन्छ । अंग्रेजीमा कुनै ठाउँ एकदमै सफा छ भन्न परे अस्पताल जस्तो भनिन्छ– As Clean As Hospital हाम्रोमा यही कुरा ब्यङ्ग्य सुनिन्छ ।
यातायात व्यवस्था विभागमा लाइन उत्पातै रहेछ, पहिले भन्दा बढी । लाइसेन्सका कारण भनिदोरहेछ । यसलाई पनि तुरुन्तै कम गर्न सकिन्छ । अनलाइन अपोइन्मेण्ट, होम डेलिभरी, काउन्टरको विकेन्द्रीकरण वा वृद्धि जस्ता उपाय अनाउन सकिन्छ । त्यो पनि गरिएको देखिन्न । ५ वटा काउण्टर घुमाएर ५ थरी कर्मचारीले जे काम गर्छन्, त्यो एउटै काउण्टरमा एकै कर्मचारीले गर्न सकिने छन् ।
उमेरले ३५ भित्रै रहेका र इतिहासको अध्ययन शून्यप्रायः रहेकाले ३५ वर्षमा केही भएन भनिदिए पुग्छ, पुगेकै छ । ३५ वर्ष यता बनेका बाटो घाटो, संचार र सुविधा प्रयोग गर्दै डडेलधुरादेखि मुस्ताङ्का भीरपाखा गाडीमा छिचोल्दै उही ३५ वर्षलाई सत्तोसराप गर्दै ३५ वर्षे युवालाई देशकै नेता बन्ने छुट वा अवसर यही ३५ वर्षले दिएको धरातलीय यथार्थ हो ।
यो ३५ वर्षमा विकासको रफ्तार जुन मात्रामा हुनुपथ्र्यो–त्यो भएन, सुशासन जुन मात्रामा हुनुपथ्र्यो–त्यो भएन, सत्य हो । तर, ३५ वर्षमा केही भएन भन्नु देशलाई केही बुझेकै रैनछ भन्ने दलिल पेश गर्नु हो । ३५ वर्षमा नेपालले राजनीतिक, सामाजिक वा विकासका दृष्टिले जुन मात्रामा फड्को मार्यो, त्यति मात्रामा फड्को अर्को कुनै ३५ वर्षको अवधिमा मारेको थिएन ।
देशविदेश घुमेका, ३५ वर्ष अघिको नेपाल पनि देखेका, ३५ वर्ष अघि र पछिको तुलना र विवेचना गर्न सक्ने क्षमता भएका रविजीले पछिल्लो समय दोहोर्याइरहेका छन्–३५ वर्षलाई दोष थोपरेरे मात्र हुन्न है साथीहरु ! राजनीतिक हिसाबले पाङ् न पुच्छरका तर पदीय हिसावले माननीय भएका केहीले मलामीदेखि जन्ती जाँदासम्म उही भाष्य दोहोर्यउने गरेका छन्– ३५ वर्षमा केही भएन । अब पनि यसो भनिरहे नाकको डाँडी भाँचिनेगरि रवि स्टाइलमा घुमाएर बजाइदिए फरक पर्दैन । किनकी, गर्न सकिने काम पनि नगरी ३५ वर्षलाई सराप्दैमा कार्यकाल खेर जाने खतरा देखिँदैछ ।
