सिसडोलमा फेरी राजनीति, माग पुरा नभएर फोहोर रोक्ने चेतावनी

काठमाडौं । सिसडोलवासीले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् ।
सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले १५ दिनभित्र ११ बुँदे माग पूरा नभए फोहोर ल्याउने काम रोक्ने चेतावनी दिएका हुन् । देशको राजनीतिक सरगर्मी शुरु भए लगत्तै फोहोरमाथि फोहोरी खेल शुरु भएको हो । स्थानीयवासीले तत्काल माग सम्बोधन नगरे फोहोर ठप्प पार्नेसम्मको चेतावनी दिएका छन् । उपत्यकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवार निकाय स्थापना नहुदा समस्या बढ्दै गएको छ ।
समितिका संयोजक नवराज ढुंगानाले बिगत १५ बर्ष देखि फोहोर थुप्रिएर आतंक मच्चाई रहेको टिप्पणी गरे । पटक पटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने चेतावनी उनले दिए ।
उनंले सिलडोलमा अब कि फोहोर बस्छ कि मान्छे बस्ने गरी टुंगो लगाउन सरकारसँग माग गरे । ‘भौतिक वातावरण प्रदुषित स्थानमा मान्छे र फोहर किन सङ्गै राखियो ?’ ढुंगानाले प्रश्न गरे । फोहोरको अन्यत्र व्यवस्थापन गर्न या सिलडोलवासीलाई उपयुक्त स्थानमा स–सम्मान व्यवस्थापन गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको व्यवस्थापनकालागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिए । उनले भने– ‘प्रविधि मार्फत फोहोरको समाधान हुन्छ । फोहोर मैलाको व्यवस्थापनको जिम्मेवारी सरकारको होइन काठमाडौ महानगरपालिका हो ।’
नेपाली कांग्रेस नुवाकोटका नेता रमेश महतले काठमाडौंबाट प्रहरी लगेर जबर्जस्त फोहोर फालिने गरेको आरोप लगाउनुभयो । उहाले जनतामाथि जोरजवरजस्ती सह्य नहुने बताए ।
समितिले उपत्यकाको फोहोरले सिसडोल आसपासका बस्तीहरुमा विगत १५ वर्षदेखि निरन्तर आतकं मच्चाउँदै आइरहेकाले समस्या हल गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट वा मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरु, विषयगत समितिहरु र उपत्यका नगर फोरम सहित सरोकारवालाहरुको प्रतिनिधिको उपस्थितिमा संयुक्त बैठक बसी तत्काल स्थानियवासीको माग सम्बोधन गर्न माग गरेको छ ।
समितिले १५ वर्षसम्म पनि फोहरको पहाड बनाई गाउँबस्ती नै दुषित वातावरण दुषित, मानव स्वास्थ दुषित जग्गा जमीन दुषित खोला दुषित यो फोहरको डाँडाबाट जनताले रोग र दुर्गन्ध भोगिरहेको भन्दै सरकारसँग प्रश्न गरेको छ ।
सिसडोल, बन्चरेडाँडा आसपासका अति प्रभावित वडाहरु काठमाडौं जिल्लामा समायोजन गर्नुपर्ने, प्रभावित क्षेत्र आसपासको जग्गा अधिकरण गर्ने, फोहरमैला व्यवस्थापन समिति निर्माण गर्ने, अल्पकालिन डम्पिङसाइट सिसडोल बनाउने, दीर्घकालिन डम्पिङसाइट बन्चरेडाँडामा बनाउने, वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन, फोहरमैला व्यवस्थापन ऐन सम्बन्धी, निर्माणधिन बन्चरेडाँडा आयोजनामा भएको लापरवाही सम्बन्धी, स्वास्थ्य र शिक्षाका सम्बन्धी, कृषि पशु र खानेपानी सम्बन्धी र यातायात (सडक) र रोजगारको प्रबन्ध सम्बन्धि मागहरु पुरा गर्न नेपाल सरकारबाट निर्णय हुनुपर्ने ११ बुदे माग समितिले राखेको छ ।
फोहरको व्यवस्थापनको जिम्मा काठमाडौंलाई दिएर ककनी १,२,३ धुनवेशी नगरपालिका १ लाई वा सिसडोलका आसपासको भुगोल बस्ती काठमाडौं जिल्लामा समायोजन गरेर व्यवस्थापन गर्नसमेत माग राखेको छ । अघिल्ला शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बञ्चरेडाडा ल्याण्डफिल साइटको स्थलगत अनुगमन गरी पुस मसान्तभित्र फोहोर व्यवस्थापन गर्ने तयारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *