साझा प्रकाशनको गरिमालाई बचाउन समिति र कर्मचारी जिम्मेवार बन्नुपर्छः मन्त्री तुम्बाहाङफे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिव माया तुम्बाहाङफेले साझा प्रकाशनको गरिमालाई बचाउन सञ्चालक समिति र कर्मचारी उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएकी छन् ।

साझा प्रकाशनको चौबिसौँ साधारणसभा कार्यक्रममा उनले कर्मचारीले प्रभावकारी ढङ्गले कार्यसम्पादन नगरेको पाइएको भन्दै आफूले प्रकाशनमा ल्याएको किताबका बारेमा बुझ्न खोज्दासमेत जानकारी पाउन नसकेको बताइन् । “कर्मचारीको काम तलब थाप्ने मात्र होइन”, उनले भनिन्, “कर्तव्यबोधका साथ काम गर्न नसक्नु ठूलो कमजोरी हो ।”

उनले साझा प्रकाशनमा विगतमा भएको भ्रष्टाचार र अनियमितताका कारण संस्था धारासायी हुने अवस्थामा पुगेको भन्दै अहिलेको नयाँ नेतृत्वले यसको विकासमा विशेष ध्यान पुर्याउनेमा आफू आशावादी रहेको बताइन् । मन्त्री तुम्बाहाङफेले अहिलेको सङ्कटपूर्ण अवस्थामा सहयोग तथा अनुदानको जरुरत परे पनि यो संस्थालाई आत्मनिर्भर बनाउने दिशामा समिति र कर्मचारीको ध्यान पुग्नुपर्ने बताइन् ।

नवनिर्वाचित अध्यक्ष विजय सुब्बाले साझालाई मरितुल्य अवस्थामा पुर्याउन अघिल्लो व्यवस्थापन बढी जिम्मेवार रहेको बताए । “मैले चलाएको भ्रष्टाचार विरोधी अभियानमा मिडियालगायत विभिन्न पक्षले निकै साथ दिए”, उनले भने “संस्थालाई ध्वस्त बनाउनेलाई मिल्काउन सफल भएका छौँ, अब संस्थाको मुहार फेरिने कुरामा शङ्का गर्नुपर्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *