काठमाडौँ । प्रतिनिधि सभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत भएको छ। सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेकी राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले ग्रामीण अर्थतन्त्रको मुख्य आधारका रूपमा कृषि र पुशधन रहेको अवस्थामा सङ्क्रामक पशु रोग फैलिनुभन्दा अगाडि नै रोकथाम गर्न जरुरी रहेको बताए।
नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले प्रस्तुत विधेयकले पशुपालक किसानले भोग्नु परेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
रास्वपाका समिना मियाँले पशु स्वास्थ्यलाई मानव स्वास्थ्य र वातावरणीय स्वच्छतासँग जोडेर सङ्क्रामक रोग नियन्त्रण गर्नुपर्ने धारणा राखिन्।
सांसदहरू शोभा खानाल, गङ्गालक्ष्मी अवाल, माधवबहादुर थापा, मोहनलाल आचार्य, समीक्षा बास्कोटा, पुष्पाकुमारी चौधरी, गणेशबहादुर विश्वकर्मा, डा ओजस्वी शेरचन, तारा विश्वकर्मा, गङ्गादेवी श्रेष्ठ, पार्वती विक, नीनुकुमारी कर्ण, भरतप्रसाद पराजुली, हरिमोहन भण्डारी, राजन गौतम र हरिप्रसाद भुसालले सङ्क्रामक पशु रोग नियन्त्रणका लागि विधेयक आवश्यक रहेको बताए।
