५ दिनदेखि रेडपाण्डा क्षेत्रमा डढेलो, हेलिकोप्टरबाट नियन्त्रण लिने प्रयास

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म बिहीबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मन्दिरसम्मै आगो पुगेपछि सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी ओसारेर ढडेलो नियन्त्रणमा ल्याउने प्रयत्न भइरहेको छ ।
गत बिहीबार दिउँसोदेखि लागेको ढडेलो ५ दिनसम्ममा पनि नियन्त्रणमा नआएकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । उनले भने– ‘हामीले पाथीभराको मन्दिरचाहिँ बचाउन सक्यौ । अन्य स्थानतिर आगो फैलिने सक्ने सम्भवना छ ।’ मन्दिर परिसरसम्म पुगे पनि मन्दिरलाई आगोले असर नगरेको निर्देशक काफ्लेले जानकारी दिए।
आगोे नियन्त्रण गर्नका लागि स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी साथै पाथीभरा क्षेत्र विकासका कर्मचारी ४ दिनदेखि निरन्तर लागेको निर्देशक काफ्लेले बताए । पाथीभरा क्षेत्रमा सुख्खा क्षेत्र भएको कतै पनि पानीको मुहानसम्म नभएको र तीव्र गतिमा हावा चल्ने भएकाले पाँच दिनसम्ममा पनि नियन्त्रणमा लिन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
सोमबार बिहान पाथीभरा मन्दिर परिसरसम्म आगो पुगेको हो । पाथीभरा क्षेत्रमा पानी नभएकोले नियन्त्रणमा ल्यालउन नसकेपछि हेलिकोप्टरबाट पानी असारेर आगो नियन्त्रणमा ल्याउन लागेको महतले जानकारी दिए। दिन प्रति दिन आगो नियन्त्रण हुनुको साटो आगो फैलिँदै गएपछि कुनै नियन्त्रण गर्ने उपाय नलागे पनि हेलिकोप्टरबाट पानी ओसारेर आगो निभाउन हेलिकोप्टर ल्याउनुपरेको ताप्लेजुङ जिल्ला प्रशासन प्रमुख झरेन्द्र चापागाईंले बताए । ठूलो क्षेत्रमा लागेको ढडेलो केही नियन्त्रणमा आए पनि तीव्र हावा चलेको समय आगो उठ्न सक्ने भएकाले पानी वा हिउँ नआएसम्म ढडेलो रुँगी रहनुपर्ने भएको चापागाईंले बताए ।
फेदीको बस्तीदेखि करिब ३ किलोमिटर पूर्वको जंगलबाट डढेलो लाग्न सुरु भएको थियो । सयौ वर्षसम्म हुर्केका वन जंगल तथा जडीबुडी खरानी भएको हिमाली संरक्षण मञ्चका रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधताको ठूलो नक्सानी भएको र कति वन्यजन्तु मरे र कति भाग्न सफल भयो मूल्यांकन हुन नसकेको संयोजक राईले बताए। पाथीभरा क्षेत्रको ढडेलो लागेको क्षेत्र विश्वको दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान हो । रेडपाण्डाको बासस्थानमा आगो लागेपछि अब पाथीभरा क्षेत्रमा रेडपाण्डा नपाइने अवस्था आएको राईले बताए।नेपाल समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *