पहिचानका लागि स्तम्भ ठड्याउने होड

धनकुटा । पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ ।

त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् ।

स्वादिलो सुन्तला उत्पादनका लागि नामुद शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १९ लाख रुपियाँ खर्च गरेर पिप्लेडाँडामा स्तम्भ निर्माण गरेको छ । ‘सुन्तला उत्पादनका लागि यो क्षेत्र प्रख्यात छ । त्यसैले यसलाई पर्यटकीय क्षेत्रका रूपमा परिचित गराउन सुन्तला स्तम्भ निर्माण गरिएको हो,’ गाउँपालिकाका अध्यक्ष मनोज राईले भने ।

उता धनकुटा नगरपालिकाले एभोकाडोको राजधानीका रूपमा धनकुटालाई घोषणा गरेको छ । त्यसैले नगरपालिकाले वडा नं. ६ स्थित परिचयमोडमा एभोकाडो स्तम्भ निर्माण गरेको छ । वडा नं. २ स्थित भीरगाउँमा वडा कार्यालयको १० लाख रुपियाँ र सांसद विकास कोषको १० रुपियाँको लगानीमा गाँजर स्तम्भ निर्माण गरिएको छ ।

यता धनकुटा नगरपालिकाकै वडा नं. ३ कागतेमा नगरपालिका तथा वडा कार्यालयको सहयोगमा आठ लाख २० हजार रुपियाँको लागतमा कागती स्तम्भ निर्माण गरिएको छ । वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले कागतीका कारण वडाको मुहार फेरिएको बताउनुभयो । धनकुटा नगरपालिकाकै वडा नं. १, हिलेमा वडाको पहलमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।

केही समययता धनकुटाका विभिन्न स्थानमा लाखौँ रुपियाँ खर्च गरेर स्थानको पहिचान तथा चिनारी दिने खालका स्तम्भ निर्माण गर्ने होडबाजी नै चलेको छ । धेरैजसो स्तम्भ स्थानीय वडा कार्यालयकै पहल र आर्थिक लगानीमा निर्माण भएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा पाँच वर्षको अवधिमा चारवटा स्तम्भ निर्माण भइसकेका छन् । यो नगरपालिकाको वडा नं. ७, जितपुर बजारमा आठ लाख रुपियाँको लागतमा रुद्राक्षको स्तम्भ निर्माण गरिएको छ । वडा नं. ८ मा छ लाख रुपियाँमा गाई दुहुँदै गरेको स्तम्भ निर्माण गरिएको छ । वडा नं. ५ रामबजारमा आठ लाख रुपियाँको लागतमा राम भगवान्को र वडा नं. ६ मा नागको प्रतिमा स्थापना गरिएको छ । वडा नं. ९ गणेशटारमा गणेशको मूर्ति स्थापना गरिएको छ ।

तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा नाम कहलिएको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिँधुवा बजारमा फूलकोभीको स्तम्भ बनाइएको छ । हात्तीखर्कमा स्थानको नामसँग मिल्ने गरी हात्तीको स्तम्भ निर्माण गरिएको छ ।

चौबीसे गाउँपालिका–७, बुधुकमा साढे चार लाख रुपियाँको लागतमा लागतमा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । साँगुरीगढीको चाँदीबजारमा चिन्डोको स्तम्भ निर्माण गरिएको छ । हिले बजारमा करिब २२ फिट अग्लो तोङ्वाको प्रतिमा बनाइको छ ।

लिम्बू समुदायको बाहुल्यता रहेको चौबीसे गाउँपालिकाको केन्द्र राजारानीमा च्याब्रुङको स्तम्भ बनाइएको छ । च्याब्रुङ लिम्बू समुदायको प्रमुख बाजा हो । पर्यटकीय स्थल भेँडेटारमा भेडाको स्तम्भ निर्माण गरिएको छ । पाख्रिवासमा बुद्धको प्रतिमा निर्माण गरिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *